काठमाडौं । श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी संग्रौलाले वर्तमान सरकार गठन भएपछि पुँजी बजारमा ठूलो नोक्सानी भए पनि अर्थमन्त्रीले त्यसप्रति गम्भीरता नदेखाएको आरोप लगाएकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले सरकारले ल्याएको बजेटको असफलता आर्थिक वर्षको पहिलो महिनामै देखिन थालेको दाबी गरिन्।
‘वर्तमान सरकार गठन भएपछि पुँजी बजारमा ६ खर्ब रुपैयाँ डुबेको छ। तर, यत्रो समस्या हुँदा पनि अर्थमन्त्रीज्यू चाहिँ चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छ,’ उनले भनिन्, ‘अर्थतन्त्रको समस्या समाधान नगरी देश विकास हुन्छ र?’
संग्रौलाले सत्तापक्षका सांसदहरूले अर्थमन्त्रीले ३६ देशलाई चिनेको दाबी गरे पनि आफ्नै देशको अर्थतन्त्र बुझ्न नसकेको टिप्पणी गरिन्।
‘अर्थमन्त्रीले ३६ देशलाई चिनेको भनेर सत्तापक्षका माननीयज्यूहरूले भन्नुहुन्छ। तर, उहाँले ३६ देशलाई चिनेर आफ्नै देशलाई चिन्न सक्नुभएन,’ उनले भनिन्।
बजेट कार्यान्वयन सुरु भएको पहिलो महिनामै त्यसको कमजोरी देखिएको दाबी गर्दै उनले नेपालको इतिहासमा अर्थतन्त्रमा यति धेरै समस्या र कमजोरी कहिल्यै नदेखिएको बताइन्।
सांसद संग्रौलाले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि कर्जा लगानी बढ्न नसकेको विषयमा समेत सरकारको ध्यानाकर्षण गराइन्। व्यवसायीहरूले सरकारको आर्थिक नीतिप्रति विश्वास गुमाएको हुनसक्ने उनको आशंका थियो।
‘बैंकिङ प्रणालीमा यतिधेरै तरलता हुँदा पनि किन कोही लगानी गर्न ऋण लिन चाहिरहेको छैन? के व्यवसायीहरूलाई दुईतिहाइ बहुमतको सरकारको अर्थनीतिमा अविश्वास भएकै हो त?’ उनले प्रश्न गरिन्।
उनले पुँजी बजारको गिरावट, कर्जा लगानीमा देखिएको सुस्ती र निजी क्षेत्रको घट्दो विश्वासलाई सरकारले गम्भीरतापूर्वक लिएर अर्थतन्त्र सुधारका लागि तत्काल कदम चाल्नुपर्ने बताइन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्