काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माणका लागि राज्य, पेशागत संस्था, सार्वजनिक निकाय र समाजबीच घनिष्ठ सहकार्य आवश्यक रहेको बताएका छन्। सबै पक्षको साझा प्रयासबाट मात्रै न्यायपूर्ण, सक्षम र समृद्ध नेपाल निर्माण गर्न सकिने उनको भनाइ छ।
सोमबार काठमाडौंमा आयोजित ‘हेमबहादुर मल्ल सम्मान २०८१/२०८२’ वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै नागरिकको अपेक्षाअनुरूप देश विकास गर्नु सबैको साझा दायित्व भएको बताए।
उनले वर्तमान समयमा निराशा र आवेगभन्दा पनि आशा, भरोसा र विश्वासका साथ आर्थिक समृद्धिको गुरुत्तर दायित्व पूरा गर्न सबै पक्ष केन्द्रित हुनुपर्नेमा जोड दिए।
राष्ट्रपति पौडेलले जनताले राज्यबाट पाउने सेवाको गुणस्तर र सहजतालाई राज्यको सफलता तथा विकासको महत्त्वपूर्ण आधारका रूपमा लिनुपर्ने बताए।
‘जनताले राज्यबाट झन्झटरहित, छिटोछरितो र गुणस्तरीय सेवा प्राप्त गर्ने अवस्था, निर्णय प्रक्रियाको पारदर्शिता, संस्थागत जवाफदेहिता, न्यायपूर्ण व्यवहार, विधिको शासन तथा सार्वजनिक संस्थाप्रतिको विश्वासलाई पनि राज्यको सफलता र विकासका महत्त्वपूर्ण आधारका रूपमा लिनुपर्छ,’ उनले भने।
उनले दिगो विकास सक्षम संस्था, दक्ष संस्थागत नेतृत्व तथा उच्च नैतिकता, व्यावसायिकता र उत्तरदायित्वको संस्कृतिमा निर्भर रहने धारणा राखे।
राष्ट्रपति पौडेलले नेपाल जनप्रशासन संघजस्ता प्राज्ञिक तथा पेशागत संस्थाहरूले नीति निर्माण, प्रशासनिक सुधार र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन आगामी दिनमा अझ सशक्त भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
उनले राष्ट्र निर्माण र आर्थिक समृद्धिको अभियानमा राज्यका निकाय, सार्वजनिक संस्था, पेशागत संगठन र नागरिक समाजबीचको समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्