काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङको निजी भ्रमण सकेर काठमाडौं फर्किएका छन्। उनको भ्रमणपछि विभिन्न सञ्चारमाध्यममा आशंका र हल्ला फैलिएको भन्दै मुस्ताङका वास्तविक समस्या र सम्भावनाबारे तथ्यमा आधारित खोज पत्रकारिता हुनुपर्ने आवाज उठेको छ।
मुस्ताङको कालीगण्डकी नदीको अवस्था, मालढुंगादेखि मुस्ताङसम्मको सडकको दुरवस्था, तीर्थयात्री तथा पर्यटकले भोग्दै आएको समस्या र भारतीय पर्यटकलाई आवश्यक पूर्वाधारका विषयमा पर्याप्त खोज तथा अनुसन्धान हुन नसकेको दाबी गरिएको छ।
मुस्ताङको विकासका लागि पूर्वाधारलाई प्राथमिकतामा राख्नुपर्ने र त्यसको मुख्य आधार सडक भएकाले मालढुंगादेखि मुस्ताङसम्मको सडक स्तरोन्नतिमा सरकारले विशेष ध्यान दिनुपर्ने माग गरिएको छ।
मुक्तिनाथमा वर्षेनी ठूलो संख्यामा तीर्थयात्री तथा पर्यटक पुग्ने भएकाले उनीहरूलाई सुरक्षित र सहज यातायात सुविधा उपलब्ध गराउनु राज्यको दायित्व भएको बताइएको छ।
कालीगण्डकीको नदीजन्य पदार्थ व्यवस्थापनमा जोड
कालीगण्डकी तथा त्यसमा मिसिने खहरे खोलाबाट बगेर आउने ढुंगा, गिटी, बालुवा र ग्राभेललाई वैज्ञानिक तथा वातावरणमैत्री ढंगले व्यवस्थापन गर्न सकिने सम्भावना रहेको बताइएको छ।
प्राकृतिक स्रोतका रूपमा खेर गइरहेका नदीजन्य पदार्थलाई मापदण्डअनुसार व्यवस्थापन गरी विकास निर्माणमा उपयोग गर्न सकिने भएकाले सरकारले स्पष्ट नीति बनाउनुपर्ने माग गरिएको छ।
क्रसर उद्योगबारे तथ्य खोज्नुपर्ने
क्रसर उद्योगका विषयमा एकपक्षीय प्रचार भइरहेको भन्दै वास्तविक अवस्था सार्वजनिक गर्नुपर्ने आवाज उठेको छ। बागलुङ र पर्वतमा कानुनी रूपमा दर्ता भएका क्रसर उद्योगको संख्या, उनीहरूले मापदण्ड पालना गरे–नगरेको तथा मापदण्ड पूरा गरेका उद्योग सञ्चालनमा किन समस्या भइरहेको छ भन्नेबारे निष्पक्ष अध्ययन आवश्यक रहेको बताइएको छ।
क्रसर उद्योगसँग निर्माण सामग्रीको आपूर्ति, सिमेन्ट, डन्डी, इँटा, निर्माण व्यवसाय र श्रमिकको रोजगारीसमेत जोडिएको भन्दै कानुन र वातावरणीय मापदण्ड पूरा गर्ने उद्योगलाई स्पष्ट नीतिअनुसार सञ्चालनको वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ।
खोज पत्रकारितामा जोड
पूर्व पत्रकारसमेत रहेका प्रधानमन्त्री शाहले पत्रकारिता कुनै राजनीतिक दलको पक्षपोषण गर्ने माध्यम बन्न नहुने धारणा राख्दै आएको उल्लेख गरिएको छ। पत्रकारले राजनीतिक निकटताभन्दा तथ्य र सत्यलाई प्राथमिकता दिनुपर्ने तथा पूर्वाग्रह र सनसनीभन्दा खोज पत्रकारितामार्फत वास्तविकता बाहिर ल्याउनुपर्नेमा जोड दिइएको छ।
कुनै व्यक्ति वा संस्थामाथि आरोप लगाउनुअघि कति उद्योग छन्, कति वैधानिक र अवैधानिक छन्, कालीगण्डकीमा वास्तविक क्षति कहाँ र कसरी भइरहेको छ तथा सडकको समस्या कहाँ छ भन्ने तथ्य सार्वजनिक गर्नुपर्ने बताइएको छ।
सडक र पर्यटनलाई प्राथमिकता दिन माग
प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणलाई राजनीतिक विवादको विषयभन्दा पूर्वाधार विकास र पर्यटन प्रवर्द्धनसँग जोड्नुपर्ने आवाज उठेको छ। कालीगण्डकी करिडोर तथा मुस्ताङ जाने सडकको दीर्घकालीन स्तरोन्नति, सुरक्षित यातायात, नदीजन्य पदार्थको वैज्ञानिक व्यवस्थापन र मापदण्ड पूरा गरेका उद्योग सञ्चालनका लागि स्पष्ट नीति आवश्यक रहेको बताइएको छ।
क्रसर उद्योग बन्द गर्ने भए स्पष्ट नीति बनाउनुपर्ने र सञ्चालन गर्न दिने भए वातावरणीय तथा कानुनी मापदण्ड कडाइका साथ लागू गर्नुपर्ने सुझाव दिइएको छ। स्वदेशमै उद्योग सञ्चालन गरी रोजगारी सिर्जना गर्ने व्यवसायीलाई अनिश्चिततामा राख्न नहुनेमा समेत जोड दिइएको छ।
मुस्ताङ भ्रमणलाई हल्ला र राजनीतिक आरोप–प्रत्यारोपभन्दा विकास, पर्यटन, पूर्वाधार र प्राकृतिक स्रोतको दिगो व्यवस्थापनतर्फ केन्द्रित गर्ने अवसरका रूपमा लिनुपर्ने बताइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्