जनकपुरधाम । बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणका मुख्य आरोपीसँग सोधपुछ गरिएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरसहितका प्रहरी अधिकारी छानबिनको दायरामा परेका छन्।
हातमा हतकडी लगाइएका १६ वर्षीय आरोपीसँग अस्पतालमा गरिएको सोधपुछको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी प्रधान कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयले घटनाबारे चासो देखाएका हुन्।
भाइरल भिडिओमा आरोपी किशोरले गरिमा चौधरीको हत्या गरेको स्वीकार गरेको देखिन्छ। उनले प्रदीप खड्का नाम गरेका साथीसँग मिलेर घटना गरेको दाबी गरेका छन्। यद्यपि, घटनाको अनुसन्धान जारी रहेकाले प्रहरीले सार्वजनिक रूपमा भाइरल भिडिओमा देखिएका सबै विवरणको औपचारिक पुष्टि गरिसकेको छैन।
एसपी र डीएसपीसँग पनि सोधपुछ
स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवर र डीएसपी मीनबहादुर घलेसँग समेत घटनाबारे सोधपुछ थालिएको छ।
संवेदनशील आपराधिक घटनाको अनुसन्धानका क्रममा तयार भएको अडिओ–भिडिओ कसरी सामाजिक सञ्जालसम्म पुग्यो भन्ने विषयमा साइबर ब्युरोमार्फत डिजिटल ट्र्याक अनुसन्धान भइरहेको बताइएको छ।
भाइरल भिडिओमा हातमा हतकडी लगाइएका किशोरसँगै दुई जना प्रहरीसमेत देखिन्छन्। अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकले प्रश्न गरिरहेको अवस्थामा उक्त भिडिओ खिचिएको दाबी गरिएको छ।
भिडिओ कसरी बाहिरियो?
प्रहरीले भिडिओ सार्वजनिक गर्ने व्यक्ति मात्र नभई उक्त सामग्री उनलाई कसले उपलब्ध गरायो भन्ने विषयमा समेत अनुसन्धान अघि बढाएको स्रोतले जनाएको छ।
प्रहरीभित्रकै कुनै कर्मचारी वा अधिकारीको संलग्नता छ कि छैन भन्ने कोणबाट पनि आन्तरिक छानबिन भइरहेको बताइएको छ। अनुसन्धानसँग सम्बन्धित संवेदनशील अडिओ–भिडिओ अनधिकृत रूपमा सार्वजनिक हुनु अनुसन्धानको गोपनीयता र प्रहरीको आन्तरिक प्रोटोकलसँग जोडिएको गम्भीर विषयका रूपमा हेरिएको छ।
यस विषयमा प्रतिक्रिया लिन एसपी कुँवरसँग सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन नसकेको बताइएको छ।
तीन वर्षीया गरिमाको हत्या
जितपुरसिमरा उपमहानगरपालिका–१ दसधुरीकी तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा प्रहरीले हाल अनुसन्धान जारी राखेको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका १६ वर्षीय किशोरसँग गरिएको सोधपुछको भिडिओ सार्वजनिक भएपछि घटनाको अनुसन्धान प्रक्रिया, नाबालक आरोपीको गोपनीयता र प्रहरीको अनुसन्धान प्रणालीमाथि समेत गम्भीर प्रश्न उठेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्