काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले नीतिगत तथा संस्थागत सुधारका काम अघि बढाइरहेको बताएका छन्।
राष्ट्रिय विज्ञापन संघ नेपालका पदाधिकारीसँग भएको भेटमा मन्त्री तिमिल्सिनाले विगतमा सरकारी विज्ञापन वितरणका क्रममा देखिएका आर्थिक अनियमिततालाई सरकारले गम्भीर रूपमा लिएको उल्लेख गर्दै भविष्यमा त्यस्ता समस्या दोहोरिन नदिन विज्ञापन क्षेत्रसँग सम्बन्धित सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए।
उनले विज्ञापनदाता, विज्ञापन एजेन्सी, सञ्चारमाध्यम, नियामक निकाय र उपभोक्तासहित विज्ञापन बजारसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका सबै पक्षले पारदर्शी र व्यावसायिक ढंगले आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
मन्त्री तिमिल्सिनाले सरकारले केही समयअघि राष्ट्रिय विज्ञापन नीति जारी गरिसकेको जानकारी दिँदै उक्त नीतिको प्रभावकारी कार्यान्वयनमार्फत विज्ञापन क्षेत्रलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाइने बताए।
उनले डिजिटल माध्यमको तीव्र विस्तारसँगै विज्ञापन बजार र उपभोक्ताको व्यवहारमा ठूलो परिवर्तन आएको उल्लेख गरे। विगतमा प्रयोग हुँदै आएका परम्परागत विज्ञापनका माध्यम र शैली मात्र पर्याप्त नहुने भन्दै उनले प्रविधिको विकास र बदलिँदो उपभोक्ता व्यवहारअनुसार विज्ञापन क्षेत्रलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।
मन्त्री तिमिल्सिनाले सञ्चार तथा विज्ञापन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए। विज्ञापन बजारको विस्तारले सञ्चारमाध्यमको आर्थिक आधार बलियो बनाउनुका साथै रोजगारी सिर्जना, व्यापार प्रवर्द्धन र समग्र अर्थतन्त्रमा समेत योगदान पुर्याउने उनको भनाइ थियो।
कोभिडपछि विज्ञापन व्यवसायमा दबाब
भेटका क्रममा राष्ट्रिय विज्ञापन संघ नेपालका पदाधिकारीहरूले कोभिड–१९ महामारीपछि नेपालको अर्थतन्त्रसँगै विज्ञापन व्यवसाय पनि प्रभावित भएको बताएका थिए।
संघले विज्ञापन बजार तथा विज्ञापन एजेन्सीहरूले भोगिरहेका आर्थिक, कानुनी र नीतिगत समस्याबारे मन्त्रालयको ध्यानाकर्षण गराएको थियो।
विज्ञापन एजेन्सीले सरकार, सञ्चारमाध्यम, विज्ञापनदाता र उपभोक्ताबीच महत्वपूर्ण सेतुको भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै संघले यस क्षेत्रले हजारौँलाई रोजगारी प्रदान गर्नुका साथै व्यापार तथा व्यवसाय प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याइरहेको जनाएको छ।
संघका पदाधिकारीहरूले विज्ञापन उद्योगलाई थप व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउन स्पष्ट कानुनी व्यवस्था, पारदर्शी सरकारी विज्ञापन प्रणाली तथा डिजिटल विज्ञापन बजारलाई समेत समेट्ने आधुनिक नीति आवश्यक रहेको धारणा राखेका थिए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्