काठमाडौं । पाकिस्तानका सेना प्रमुख तथा चिफ अफ डिफेन्स फोर्सेस फिल्ड मार्सल असिम मुनिर सोमबार इरानको राजधानी तेहरान पुगेका छन्। उनी पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीसहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तेहरान पुगेका हुन्।
पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आईएसपीआर) ले मुनिरको भ्रमणलाई क्षेत्रीय शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने पाकिस्तानको प्रयासको हिस्सा भएको जनाएको छ। भ्रमणका क्रममा उनले इरानका वरिष्ठ अधिकारीसँग मध्यपूर्वमा जारी द्वन्द्वको शान्तिपूर्ण, दिगो र व्यापक समाधानका विषयमा छलफल गर्ने बताइएको छ।
मुनिरले सोमबार इरानका गृहमन्त्री एस्कन्दर मोमेनीसँग भेटवार्ता गरेका छन्। भेटमा द्विपक्षीय सम्बन्ध र पछिल्लो क्षेत्रीय अवस्थाबारे छलफल भएको जनाइएको छ।
अमेरिका–इरान वार्ता पुनः अघि बढाउने प्रयास
मुनिरको तेहरान भ्रमणलाई अमेरिका र इरानबीच रोकिएको वार्ता पुनः अघि बढाउने पाकिस्तानको कूटनीतिक प्रयासका रूपमा पनि हेरिएको छ। पाकिस्तानले पछिल्लो समय दुवै पक्षसँग सम्पर्क कायम राख्दै मध्यस्थको भूमिका निर्वाह गर्दै आएको छ।
पाकिस्तानी स्रोतका अनुसार तेहरानमा नयाँ प्रस्तावबारे समेत छलफल भइरहेको छ। ती प्रस्तावमा होर्मुज जलडमरूमध्य पुनः खुलाउने तथा अमेरिका र इरानबीच रोकिएको प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने विषय समेटिएको बताइएको छ।
मुनिरको भ्रमणअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनीसँग फोनवार्ता गरेको पनि रोयटर्सले जनाएको छ। पाकिस्तानी स्रोतका अनुसार ट्रम्पले इरानलाई पुनः वार्तामा ल्याउन पाकिस्तानले आफ्नो प्रभाव प्रयोग गर्न आग्रह गरेका थिए।
अमेरिकाले इरानमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिइरहेका बेला मुनिरको तेहरान भ्रमण भएको हो। यही समयमा पाकिस्तानले अमेरिका र इरानबीच कूटनीतिक संवाद पुनः सुरु गराउने प्रयासलाई तीव्र बनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्