हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिने प्रक्रिया एक दिन पछि सरेको छ।
प्रदेशसभा सचिवालयले सोमबार साँझ ५ बजेका लागि बोलाएको बैठक विशेष कारणवश निर्धारित समयमा बस्न नसकेपछि बैठक मंगलबार दिउँसो ४ बजेसम्मका लागि स्थगित गरिएको हो।
प्रदेशसभा सचिवालयले सोमबार जारी गरेको सूचनाअनुसार अब बैठक भदौ ९ गते मंगलबार दिउँसो ४ बजे बस्नेछ। प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठकको मिति र समय परिवर्तन गरेको सचिवालयले जनाएको छ।
यसअघि मुख्यमन्त्री थापा मगरले सोमबार दिउँसो १ बजे विश्वासको मत लिने तयारी गरेका थिए। तर निर्धारित समयमा बैठक बस्न नसकेपछि साँझ ५ बजेका लागि सारिएको थियो। साँझ पनि बैठक बस्न नसकेपछि मंगलबारका लागि सारिएको हो।
नियुक्तिविरुद्ध उच्च अदालतमा रिट
मुख्यमन्त्री थापा मगरको नियुक्तिलाई लिएर उच्च अदालत हेटौंडा इजलासमा रिटसमेत दायर भएको छ। उनको नियुक्ति संविधानविपरीत भएको दाबी गर्दै अधिवक्ता मोहनप्रसाद ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वाग्मती प्रदेशसभा संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले छुट्टाछुट्टै रिट दायर गरेका हुन्।
दुवै रिट भदौ ५ गते दर्ता भएका थिए। नियुक्तिविरुद्ध परेको रिट विचाराधीन रहेकै अवस्थामा मुख्यमन्त्री थापा मगरले विश्वासको मत लिन लागेका हुन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्