काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल छातीमा दुखाइ भएपछि स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर सेन्टर पुगेका छन्। विस्तृत स्वास्थ्य परीक्षणपछि उनको रिपोर्ट सामान्य आएपछि उनी साँझ घर फर्किएका छन्।
अस्पताल प्रशासनका अनुसार सभामुख अर्याल करिब तीन घण्टा अस्पतालमा रहेका थिए। साँझ करिब ६ बजे अस्पताल पुगेका उनको आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार गरिएको थियो।
मनमोहन कार्डियो भास्कुलर सेन्टरका सूचना अधिकारी डा. रत्नमणि गजुरेलका अनुसार छातीमा दुखाइ महसुस भएपछि सभामुख अर्याल अस्पताल पुगेका थिए। विभिन्न परीक्षण गर्दा कुनै गम्भीर स्वास्थ्य समस्या नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेकाले उनलाई घर फर्काइएको उनले जानकारी दिए।
ईसीजीसहित विस्तृत परीक्षण
अस्पताल स्रोतका अनुसार सभामुख अर्यालको हृदयसम्बन्धी अवस्थाको मूल्यांकन गर्न ईसीजीसहित विभिन्न स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणका रिपोर्ट सामान्य आएपछि चिकित्सकको परामर्शमा उनी घर फर्किएका हुन्।
अस्पतालले सभामुख अर्यालको स्वास्थ्य अवस्था हाल स्थिर र सामान्य रहेको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्