सुलीकोट (गोरखा) । केही दिनयता लगातार परेको वर्षाका कारण गोरखाको अबुँवा–विर्दी–सेरा–पौवाटार सडकखण्ड हिलाम्मे बनेको छ। सडकका विभिन्न स्थानमा पानी जम्नुका साथै माटो र हिलोका कारण सडक चिप्लो भएपछि सवारीसाधन सञ्चालनमा समस्या देखिएको छ।
वर्षायाम सुरु भएसँगै सडकको अवस्था थप बिग्रँदै गएको पालुङटार नगरपालिका–९ का वडाध्यक्ष भेषराज पाण्डेले बताउनुभयो। सडकमा पर्याप्त पानी निकासको व्यवस्था नहुँदा वर्षाको पानी सडक सतहमै जम्ने गरेको उहाँको भनाइ छ।
कतिपय स्थानमा सडक बिग्रिएर ठूला खाल्डाखुल्डी बनेका छन् भने हिलो र चिप्लोपनका कारण विशेषगरी मोटरसाइकल, स्कुटर तथा साना सवारीसाधन सञ्चालन गर्न कठिन भएको छ।
चिप्लो सडकमा दुर्घटनाको जोखिम
हिलाम्मे सडकमा यात्रा गर्दा दुर्घटनाको जोखिमसमेत बढेको सवारीचालकहरूले बताएका छन्। उकालो–ओरालो सडकमा सवारीसाधन चिप्लिने, फस्ने तथा नियन्त्रण गुमाउने समस्या देखिन थालेको छ।
विशेषगरी दुईपाङ्ग्रे सवारीसाधन चालकका लागि यात्रा थप जोखिमपूर्ण बनेको स्थानीयको भनाइ छ। वर्षा जारी रहे सडकको अवस्था अझ बिग्रन सक्ने चिन्ता पनि व्यक्त गरिएको छ।
स्थानीयवासीको दैनिक यात्रा प्रभावित
सडकको दयनीय अवस्थाका कारण पालुङटार नगरपालिका–९, १०, ८, ६ र ७ नम्बर वडाका स्थानीयसँगै लमजुङसम्म आवतजावत गर्ने यात्रु प्रभावित भएका छन्।
विद्यालय, बजार तथा अन्य कामका लागि गोरखा सदरमुकाम र तनहुँको आँबुखैरेनीसम्म यात्रा गर्ने सर्वसाधारणले समेत सास्ती खेप्नुपरेको वडाध्यक्ष पाण्डेले बताउनुभयो। खराब सडकका कारण यात्रा समय लामो हुनुका साथै सवारीसाधन बिग्रने समस्या पनि बढेको छ।
स्थानीय गणेश सेढाईंले तत्काल सडकमा ग्राभेल थप्ने, पानीको उचित निकासको व्यवस्था गर्ने तथा खाल्डाखुल्डी पुर्ने काम गर्नुपर्ने बताउनुभयो।
दीर्घकालीन स्तरोन्नतिको माग
वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने समस्या वर्षेनि दोहोरिने भएकाले सडकको दीर्घकालीन स्तरोन्नति गर्नुपर्ने स्थानीयको माग छ।
स्थानीय बुद्धिजीवी चुडामणि अधिकारीले अस्थायी मर्मतले मात्र समस्या समाधान नहुने भन्दै सडकलाई व्यवस्थित रूपमा स्तरोन्नति गर्नुपर्नेमा जोड दिनुभयो।
स्थानीयको गुनासो बढेपछि गोरखा क्षेत्र नम्बर २ का सांसद कविन्द्र बुर्लाकोटीसहित जिल्लाका सम्बन्धित कार्यालयका प्रमुखहरूले सडकको संयुक्त अनुगमन गरेका छन्। अनुगमनपछि तत्काल आवश्यक मर्मत गरी सवारीसाधन सञ्चालनलाई सहज बनाउने प्रतिबद्धता सम्बन्धित निकायले जनाएको स्थानीयले बताएका छन्।
हाल अबुँवा–विर्दी–सेरा–पौवाटार सडकखण्डमा यात्रा गर्ने सर्वसाधारण र सवारीचालक हिलो, चिप्लोपन र दुर्घटनाको जोखिमबीच आवतजावत गर्न बाध्य छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्