काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न दायर गरेको रिटमा सर्वोच्च अदालतले बिहीबार सुनुवाइ गर्ने भएको छ।
देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले संयुक्त रूपमा मंगलबार दायर गरेको रिटमाथि बिहीबारका लागि पेसी तोकिएको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए।
अधिकारिता विवादसम्बन्धी पुनरावलोकनको टुंगो नलागेसम्म कांग्रेसको महाधिवेशन प्रक्रिया अघि बढाउन नहुने माग देउवा पक्षले रिटमा गरेको छ।
कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका अघि बढाएको छ। देउवा पक्षले भने पार्टीको वैधानिकता तथा नेतृत्वसम्बन्धी विवाद अदालतमा विचाराधीन रहेकाले त्यसको अन्तिम निर्णय नआएसम्म महाधिवेशनका गतिविधि रोक्नुपर्ने जिकिर गरेको छ।
पुनरावलोकनको टुंगो पर्खनुपर्ने जिकिर
सर्वोच्च अदालतले यसअघि कांग्रेसको अधिकारिता विवादसम्बन्धी मुद्दामा पुनः सुनुवाइ गर्ने प्रक्रिया अघि बढाइसकेको छ। त्यही विवादको अन्तिम टुंगो नलाग्दै महाधिवेशन प्रक्रिया अघि बढे अदालतमा विचाराधीन मुद्दा नै प्रभावित हुने देउवा पक्षको दाबी छ।
यसअघि मुद्दामाथि सुनुवाइका क्रममा अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो। तर विवादको अन्तिम निरूपण हुन सकेको थिएन।
अब बिहीबार हुने सुनुवाइले कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया तत्काल अघि बढाउने वा रोक्ने विषयमा महत्वपूर्ण निर्णय दिने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्