काठमाडौं । नेपाली हास्य–व्यंग्य तथा सामाजिक चेतनालाई निरन्तरता दिँदै ब्रान्डवर्थ प्रालिले ‘८३ सालको गाईजात्रा’ कार्यक्रम आयोजना गर्ने भएको छ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा भदौ १२, १३ र १४ गते कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ। कार्यक्रममा चर्चित हास्य–व्यंग्य कलाकारहरूले समसामयिक राजनीतिक, सामाजिक, आर्थिक तथा जनजीवनसँग सम्बन्धित विषयलाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गर्नेछन्।
कार्यक्रममा वरिष्ठ हास्य–व्यंग्य कलाकार मनोज गजुरेल, शैलेन्द्र सिंखडा, लक्ष्मण गाम्नागे, चक्र दवाडी, सुमन कार्की, मेक्सम गौडेल, प्रभात लामा र सीता न्यौपानेसहितका कलाकार सहभागी हुनेछन्।
यस्तै, सरोज घिमिरे, आशिष खनाल, कल्पना खतिवडा, प्रकृति गिरी, सन्देश सुवेदी, स्मारिका फुयाल, टीकाराम आचार्य, नारायण कडरिया र पुष्पराज भट्टराईलगायत कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ।
समसामयिक विषयमा व्यंग्य
कार्यक्रममा वर्तमान राजनीतिक परिस्थिति, सामाजिक प्रवृत्ति, प्रविधि तथा सामाजिक सञ्जालको प्रभाव, नागरिकका दैनिक समस्या र पछिल्लो समय चर्चामा रहेका विभिन्न घटनालाई कलाकारले आफ्नै मौलिक शैलीमा व्यंग्यात्मक रूपमा प्रस्तुत गर्नेछन्।
गाईजात्रा कार्यक्रम नेपाली संस्कृतिको संरक्षणसँगै हास्य–व्यंग्यका माध्यमबाट सामाजिक विषयमा संवाद गर्ने उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको आयोजकले जनाएको छ।
कलाकार मनोज गजुरेलका अनुसार यसपटक कार्यक्रममा युवापुस्ताको सहभागिता उल्लेख्य रहनेछ भने प्रविधिको प्रयोगलाई पनि प्राथमिकता दिइनेछ।
विभिन्न विधाका प्रस्तुति
ब्रान्डवर्थ प्रालिका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलले नेपाली हास्य–व्यंग्यको मौलिक परम्परा नयाँ पुस्तासम्म पुर्याउने, कलाकार र दर्शकबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने तथा समसामयिक विषयलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
‘८३ सालको गाईजात्रा’मा हास्य प्रहसन, व्यंग्यात्मक प्रस्तुति, प्यारोडी, गीत–संगीतलगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिनेछ।
विभिन्न पुस्ताका कलाकारको सहभागिताले कार्यक्रमलाई थप विविध र मनोरञ्जनात्मक बनाउने आयोजकको अपेक्षा छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्