काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले प्रहरीले खानतलासीका नाममा आफूलाई दुःख दिएको आरोप लगाएका छन्।
नजरबन्दविरुद्ध दायर रिटको सुनुवाइका लागि सर्वोच्च अदालत पुगेका प्रसाईंले सञ्चारकर्मीसँग कुरा गर्दै प्रहरीले आफ्नो घरबाट मोबाइल, ल्यापटपसँगै खसी र कुखुरासमेत लगेको दाबी गरे।
‘खानतलासीको नाममा ज्यादती भएको छ। मोबाइल, ल्यापटप मात्रै होइन, खसी, कुखुरा पनि लगिएको छ। फिर्ता भएको छैन। खसी र कुखुरामाथि कस्तो अनुसन्धान हुन्छ? मैले इजलासमा प्रश्न गरेको छु,’ उनले भने।
प्रसाईंले सरकारले प्रहरी परिचालन गरेर आफूलाई नजरबन्दमा राखेको जिकिरसमेत सर्वोच्च अदालतमा गरेको बताए।
‘प्रहरीले मलाई नजरबन्द गरेको होइन भनेको छ। यदि त्यसो होइन भने मेरो घरमा बारम्बार प्रहरी पठाएर मलाई बाहिर निस्कन किन दिइँदैन? यदि त्यो नजरबन्द होइन भने मलाई भीआईपी सुविधा दिइरहेको भनेर सरकारले प्रहरी परिचालन गरेको भन्नुपर्छ,’ उनले भने।
सरकारको आलोचना गर्दै राष्ट्रियताको पक्षमा बोलेका कारण राज्यले आफूलाई पटक–पटक दुःख दिएको प्रसाईंको आरोप छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्