काठमाडौं । अभिनेता निखिल उप्रेतीको पुनरागमन फिल्म ‘आचार्य’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा एक्सन, स्टन्ट र संवादलाई प्राथमिकता दिइएको छ।
टिजर हेर्दा फिल्म बदलाको कथामा आधारित रहेको अनुमान गर्न सकिन्छ। टिजर मुख्य रूपमा निखिल उप्रेतीकै चरित्र वरिपरि केन्द्रित छ। उनको एक्सन दृश्य, स्टन्ट र दमदार संवादले टिजरलाई आकर्षक बनाएको छ।
‘जसलाई कसैले चोट दिन सक्दैन, उसलाई आफ्नैले चोट पुर्याउँछन्’ भन्ने निखिलको संवाद टिजरको आकर्षण बनेको छ। टिजरमा अभिनेत्री पूर्णिका सिजापति पनि देखिएकी छन्।
निखिल उप्रेती प्रोडक्सन प्रालिको प्रस्तुति रहेको फिल्ममा निखिल र पूर्णिकासँगै प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, भारतीय कलाकार दीपराज राणालगायतको अभिनय छ।
फिल्मको लेखन निखिल उप्रेतीले गरेका छन् भने कृष्ण भट्टराई निर्माता हुन्। ‘आचार्य’ असोज ९ गतेदेखि प्रदर्शनमा आउने भएको छ।
एक दशकपछि निर्देशनमा फर्किए निखिल
‘आचार्य’मार्फत निखिल उप्रेती करिब एक दशकपछि निर्देशनमा फर्किएका छन्। उनले यसअघि सन् २०१५ मा फिल्म ‘भैरव’ निर्देशन गरेका थिए।
अभिनयसँगै एक्सनप्रधान भूमिकाका लागि परिचित निखिलले ‘आचार्य’मार्फत निर्देशन र अभिनय दुवैलाई अघि बढाएका छन्। टिजरले फिल्ममा एक्सनसँगै बदलाको कथालाई मुख्य रूपमा प्रस्तुत गरिएको संकेत गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्