वीरगन्ज । करिब २७ वर्षदेखि बन्द रहेको ऐतिहासिक वीरगन्ज चिनी मिल पुनः सञ्चालन गर्न सकिने वा नसकिने विषयमा सरकारले सम्भाव्यता अध्ययन सुरु गरेको छ। उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि उद्योग मन्त्रालयले गठन गरेको कार्यदलले मिलको प्राविधिक तथा भौतिक अवस्थाको अध्ययन अघि बढाएको हो।
मन्त्रालयद्वारा गठित कार्यदलले मंगलबार वीरगन्ज चिनी मिल परिसरको स्थलगत निरीक्षण गर्दै कारखानाको भौतिक संरचना, मेसिनरी तथा अन्य उपकरणको अवस्थाबारे प्राविधिक मूल्यांकन गरेको छ।
१५ दिनभित्र सरकारलाई प्रतिवेदन
सीडीई श्रीकान्त यादवको संयोजकत्वमा गठन गरिएको कार्यदलले मिल पुनः सञ्चालनको सम्भाव्यता, आवश्यक मर्मतसम्भार तथा प्राविधिक अवस्थासम्बन्धी विस्तृत अध्ययन गरी १५ दिनभित्र सरकारसमक्ष प्रतिवेदन बुझाउने तयारी गरेको छ।
स्थलगत निरीक्षणका क्रममा कारखानाका संरचना, मेसिनरी र उपकरणको वर्तमान अवस्थाबारे सूक्ष्म अध्ययन गरिएको कार्यदलले जनाएको छ। निरीक्षणबाट प्राप्त विवरण र प्राविधिक निष्कर्षलाई प्रतिवेदनमा समेटिनेछ।
सरकारले प्रतिवेदनका आधारमा आगामी निर्णय लिने अपेक्षा गरिएको छ। करिब तीन दशकदेखि बन्द रहेको ऐतिहासिक वीरगन्ज चिनी मिललाई पुनः सञ्चालनमा ल्याउने सम्भावनाबारे अध्ययन सुरु भएसँगै स्थानीय स्तरमा समेत चासो बढेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्