काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज जलमार्गको अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा बिछ्याएका सबै बारुदी सुरुङ अमेरिकी नौसेनाले हटाएको दाबी गरेका छन् । उनले होर्मुज जलमार्गमा पुनः बारुदी सुरुङ बिछ्याउने प्रयास गरिए त्यस्ता जहाज वा डुंगालाई तत्काल ध्वस्त पारिने चेतावनी दिएका छन् ।
ट्रम्पले अमेरिकी स्पेस फोर्समार्फत होर्मुज जलमार्गको सम्पूर्ण क्षेत्रमा निगरानी भइरहेको दाबी गर्दै नयाँ बारुदी सुरुङ बिछ्याउने प्रयासप्रति ‘शून्य सहनशीलता’ अपनाइने बताएका छन् ।
ट्रम्पको दाबीप्रति प्रतिक्रिया दिँदै इरानका उपविदेशमन्त्री काजिम गरिबाबादीले होर्मुज जलमार्ग अझै इरानको नियन्त्रणमा रहेको र बन्द अवस्थामा रहेको बताएका छन् ।
यसैबीच इरान र ओमानका विदेशमन्त्रीहरूले जारी गरेको संयुक्त वक्तव्यमा होर्मुज जलमार्गमा जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न अस्थायी नौवहन करिडोर निर्माण गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ । दुवै देशले संयुक्त रूपमा बारुदी सुरुङ हटाउने अभियान सञ्चालन गर्ने विषयमा समेत छलफल गरिरहेको वक्तव्यमा उल्लेख छ ।
विश्वको करिब २० प्रतिशत कच्चा तेल तथा तरल प्राकृतिक ग्यास ओसारपसार हुने रणनीतिक जलमार्गका रूपमा रहेको होर्मुजमा अवरोध उत्पन्न भएपछि विश्वव्यापी इन्धन बजारमा मूल्यमा तीव्र उतारचढाव आएको छ । सन् २०२६ फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलले इरानमाथि सैन्य कारबाही सुरु गरेपछि इरानले होर्मुज जलमार्ग बन्द गर्ने प्रयास गर्दै आएको बताइएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्