काठमाडौं । बागमती प्रदेश सरकार गठनका लागि नेकपा (एकीकृत समाजवादी), नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच ६ बुँदे सहमति भएको छ।
सहमति पत्रमा मुख्यमन्त्री किरण थापा मगर, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, नेकपा दलका नेता शालिकराम जमरकट्टेल र राप्रपा दलका नेता उद्धव थापाले हस्ताक्षर गरेका छन्।
सहमति अनुसार बागमती प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ। सरकार सञ्चालनका लागि नेकपाको नेतृत्वमा सरकार सञ्चालन संयन्त्रसमेत गठन गरिने भएको छ।
तीन दलबीच दलीय हैसियतका आधारमा हाल कायम ८ वटा मन्त्रालयको संख्या नबढाउने सहमति भएको छ। मन्त्रालयको संख्या यथावत् राख्दै सरकार सञ्चालनलाई प्रभावकारी बनाउने दलहरूको योजना छ।
सभामुख नेकपाबाट
सहमति अनुसार बागमती प्रदेशको सभामुख नेकपाबाट निर्वाचित गरिनेछ। त्यस्तै, मन्त्रिपरिषद्को मर्यादाक्रममा मुख्यमन्त्रीपछि नेकपाका प्रतिनिधि रहने र तेस्रो स्थानमा राप्रपाका प्रतिनिधि रहने व्यवस्था गरिएको छ।
तीन दलबीच प्रदेश सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रमसमेत तयार गर्ने सहमति भएको छ। सहमति अनुसार ७ दिनभित्र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिनेछ।
न्यूनतम साझा कार्यक्रममार्फत प्रदेशको विकास, सुशासन र सरकार सञ्चालनका प्राथमिकता तय गरिने बताइएको छ। तीन दलले सहमतिका आधारमा सरकारलाई अघि बढाउने प्रतिबद्धतासमेत जनाएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्