चितवन । कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत आफ्नो छोराको कपाल काट्न मनाउनै मुस्किल परेको छ। विद्यालयबाट समेत छोराको कपाल छोटो बनाउन आग्रह गर्दै फोन आउने गरेको उनी बताउँछन्। तर छोरा कपाल काट्न तयार छैनन्।
“बाबुलाई कपाल छोटो बनाउन मन छैन, जबरजस्ती गर्न पनि मिल्दैन,” ढकालले भने।
भरतपुर–१० का बुद्धिकान्त न्यौपानेको अनुभव पनि उस्तै छ। कक्षा १२ मा अध्ययनरत जेठो छोरालाई लामो कपाल राख्न दिइसकेका उनी अब कक्षा ७ मा पढ्ने कान्छो छोराले पनि कपाल काट्न नमानेपछि चिन्तित छन्।
पछिल्लो समय चितवनलगायत विभिन्न ठाउँमा अभिभावकको साझा गुनासो बनेको छ—छोराहरूले कपाल छोटो बनाउन मान्दैनन्।
विद्यालय तथा उच्च शिक्षामा अध्ययनरत धेरै किशोर लामो कपाल पाल्न रुचाउन थालेका छन्। कतिपय विद्यार्थी कपाल कोर्ने वा विशेष रूपमा मिलाउनेभन्दा प्राकृतिक रूपमा छाड्न रुचाउँछन्। यसले अभिभावक, विद्यालय र विद्यार्थीबीच कपालकै विषयमा बहस सिर्जना गरेको छ।
विद्यालयमा उजुरी, कपाल काट्न दबाब दिन छाडियो
विद्यार्थीलाई जबर्जस्ती कपाल काट्न लगाइएको भन्दै अभिभावकले ‘हेलो सरकार’, प्रहरी तथा सम्बन्धित निकायमा उजुरी गर्न थालेपछि विद्यालयहरू पनि सतर्क बनेका छन्।
भरतपुर महानगरपालिका शिक्षा महाशाखाका प्रमुख सुवास आचार्यका अनुसार विद्यालयले दबाब दिएर कपाल काट्न लगाएको भन्दै गुनासो आउने गरेको छ।
विशेषगरी हजुरबुबा–हजुरआमासँग बस्ने, होस्टलमा रहने वा अभिभावकबाट टाढा रहेका किशोरहरूमा कपाल छोटो बनाउन नमान्ने प्रवृत्ति बढी देखिएको बताइएको छ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) चितवनका अध्यक्ष मदन पुरीका अनुसार कपाल काट्ने विषयमा विद्यालयहरूले प्रत्यक्ष दबाब दिन छाडेका छन्। देशभर ३५ भन्दा बढी विद्यालयविरुद्ध विद्यार्थीलाई जबर्जस्ती कपाल काट्न लगाएको उजुरी परेको जानकारी आएको उनको भनाइ छ।
“अहिले कपाल काट्ने विषयमा विद्यालयले धेरै हस्तक्षेप गर्न सक्ने अवस्था छैन,” उनले भने, “विशेषगरी कक्षा ९ देखि १२ सम्मका विद्यार्थीमा यस्तो प्रवृत्ति बढी देखिएको छ।”
कानुनले पनि भन्छ—जबरजस्ती गर्न पाइँदैन
सरकारले स्वीकृत गरेको शिक्षा नियमावलीको १०औँ संशोधनले विद्यार्थीको इच्छाविपरीत जबर्जस्ती कपाल काट्न नपाइने व्यवस्था गरेको छ।
विद्यालय परिसर वा कक्षाकोठामा विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामाथि नकारात्मक प्रभाव पार्ने गतिविधि गर्न नहुने व्यवस्था नियमावलीमा छ।
विद्यार्थीको शारीरिक स्वरूप, पहिरन, शृङ्गार वा साजसज्जाका आधारमा होच्याउने, लाञ्छित गर्ने वा चरित्रमाथि प्रश्न उठाउनसमेत नपाइने प्रावधान रहेको छ।
यससँगै विद्यालयको अनुशासन र विद्यार्थीको व्यक्तिगत रोजाइबीच सन्तुलन कसरी कायम गर्ने भन्ने बहस पनि सुरु भएको छ।
‘सेलिब्रेटी प्रभाव’ र किशोरको पहिचान खोज्ने चाहना
वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरका मनोविज्ञान विषयका उपप्राध्यापक डा. सुरेन्द्र घिमिरे किशोरहरूमा लामो कपालप्रतिको आकर्षणलाई विश्वव्यापी संस्कृति, सामाजिक सञ्जाल र सेलिब्रेटी प्रभावसँग जोडेर हेर्छन्।
उनका अनुसार सानै उमेरदेखि मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको पहुँचले किशोरहरूलाई विश्वभरका कलाकार, खेलाडी तथा सेलिब्रेटीको जीवनशैलीसँग प्रत्यक्ष जोडिदिएको छ।
“मानिसमा नक्कल गर्ने प्रवृत्ति स्वाभाविक हुन्छ,” डा. घिमिरे भन्छन्, “सेलिब्रेटीहरूले गर्ने शैलीलाई किशोरहरूले पनि आफ्नो पहिचानका रूपमा अपनाउन खोजिरहेका हुन्छन्।”
पहिले चलचित्र वा टेलिभिजनमार्फत ठूलो उमेरमा मात्र देखिने फेसन र जीवनशैली अहिले बाल्यकालदेखि नै मोबाइलको पर्दामार्फत पहुँचमा पुगेको उनको भनाइ छ।
किशोरावस्थामा अभिभावक वा विद्यालयले बारम्बार कुनै कुरा गर्न वा नगर्न दबाब दिँदा त्यसको प्रतिरोध गर्ने प्रवृत्ति पनि देखिन सक्छ। कपाल लामो राख्ने चाहनालाई कतिपय अवस्थामा आफ्नो स्वतन्त्रता र व्यक्तिगत पहिचान स्थापित गर्ने साङ्केतिक प्रयास का रूपमा समेत बुझ्न सकिने विज्ञहरूको धारणा छ।
लामो कपाल समस्या होइन, सरसफाइ महत्वपूर्ण
विज्ञहरूका अनुसार लामो कपाल हुनु आफैंमा समस्या होइन। तर यसको उचित सरसफाइ र हेरचाह आवश्यक हुन्छ।
कपालको नियमित सफाइ नगर्दा चाया, जुम्रा तथा अन्य सरसफाइसम्बन्धी समस्या देखिन सक्ने सम्भावना हुन्छ। बाक्लो वा लामो कपालमा पसिना र फोहर जम्ने भएकाले विशेषगरी गर्मी मौसममा थप ध्यान दिनुपर्ने हुन्छ।
मनोवैज्ञानिक दृष्टिले भने अभिभावक र विद्यालयले किशोरको रोजाइलाई केवल अनुशासनहीनताको रूपमा मात्र नहेरी संवादमार्फत समाधान खोज्नुपर्ने विज्ञहरूको सुझाव छ।
किशोरका लागि कपाल अब केवल कपालको विषय मात्र रहेन—यो फेसन, पुस्तागत परिवर्तन, व्यक्तिगत स्वतन्त्रता र आफ्नो पहिचान खोज्ने प्रक्रियासँग समेत जोडिएको विषय बन्न थालेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्