काठमाडौं । रसुवामा आएको भीषण बाढीले नुवाकोटको विदुर नगरपालिकामा ठूलो क्षति पुर्याएको छ । स्थानीय जनप्रतिनिधिका अनुसार बाढीले नगरपालिकाका ६ वटा वडा प्रभावित भएका छन् भने विद्युत् र सञ्चार सेवा पूर्ण रूपमा विच्छेद भएको छ ।
विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठका अनुसार बाढीले वेत्रावती, त्रिशूली बजारलगायतका बजार क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । भैँसे बजारको केही भागसमेत डुबानमा परेको उनले बताएका छन् ।
बाढीले खोला तथा नदी किनारका घर, सडक, पुललगायतका भौतिक संरचनामा व्यापक क्षति पुर्याएको मेयर श्रेष्ठले जानकारी दिए । उनका अनुसार जलविद्युत् केन्द्र, सिँचाइ तथा सोलार संरचनासमेत बाढीबाट प्रभावित भएका छन् ।
केन्द्रीय कारागारमा समेत बाढीले क्षति पुर्याएको र कैदीबन्दीलाई सुरक्षित स्थानमा सारिएको उनले बताए । देवघाट बजार क्षेत्रमा समेत बाढीले ठूलो क्षति पुर्याएको जनाइएको छ ।
६ वडा बाढीबाट प्रभावित
मेयर श्रेष्ठका अनुसार विदुर नगरपालिकाका वडा नम्बर १०, १, ४, ६, ५ र ३ बाढीबाट अत्यधिक प्रभावित भएका छन् ।
बाढीले सडक तथा अन्य भौतिक संरचना बगाएपछि नगरपालिकाको त्रिशूली अस्पतालसँगको सम्पर्कसमेत विच्छेद भएको उनले बताए । प्रभावित क्षेत्रमा विद्युत् र सञ्चार सेवा अवरुद्ध भएकाले उद्धार तथा राहतमा समेत कठिनाइ भइरहेको छ ।
बाढीबाट भएको भौतिक क्षति अत्यन्त ठूलो रहेकाले तत्काल क्षतिको यकिन विवरण निकाल्न कठिन भएको नगरपालिकाले जनाएको छ ।
उद्धारका लागि हेलिकप्टर परिचालन
बाढीबाट प्रभावित तथा घाइतेको उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको मेयर श्रेष्ठले जानकारी दिएका छन् ।
यसैबीच, बुधबार बिहान तिब्बततर्फबाट रसुवाको ल्हेन्दे खोला हुँदै भोटेकोसीमा आएको बाढीले रसुवाका विभिन्न क्षेत्र हुँदै नुवाकोटका नदी किनारका बस्तीमा समेत ठूलो क्षति पुर्याएको छ ।
प्रभावित क्षेत्रमा सुरक्षा निकायले खोज तथा उद्धार कार्य जारी राखेका छन् ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्