काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिले अत्यावश्यक अवस्था बाहेक आफू रसुवा बाढी प्रभावित क्षेत्रमा नजाने बताएका छन्। उद्धार तथा राहत कार्यका क्रममा ‘भीआईपी मुभमेन्ट’ का कारण सुरक्षाकर्मी र उद्धारकर्मीलाई थप जिम्मेवारी नथपियोस् भन्ने उद्देश्यले सकेसम्म प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा नजाने उनको भनाइ छ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विपद्को समयमा राजनीतिक नेतृत्वको भ्रमणभन्दा उद्धार, राहत र प्रभावित नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताए।
उनले भने, ‘मेरो कोसिस रहनेछ, अत्यावश्यकभन्दा बाहेक फिल्डमा आफू जाने छैन। बरु आफ्नो सरकारलाई प्रभावकारी काम गराउनमा मेरो भूमिका रहनेछ।’
कुनै विशेष कारणले प्रभावित क्षेत्रमा पुग्नुपर्ने अवस्था आए पनि आफ्नो सुरक्षाका लागि छुट्टै चिन्ता गर्न वा सुरक्षाकर्मीको जनशक्ति परिचालन गर्नुपर्ने अवस्था नबनाउने उनले बताए।
उनले थपे, ‘कुनै कारणले पुग्नुपरेका खण्डमा कुनै पनि किसिमको भीआईपी मुभमेन्ट, सुरक्षा अथवा अन्य कुनै चिज मेरा लागि चिन्ता गर्नुपर्ने छैन।’
रास्वपा सांसदहरू प्रभावित क्षेत्रमा जाँदा पनि सुरक्षाकर्मीले उनीहरूको व्यवस्थापनमा विशेष ध्यान दिनुनपर्ने उनको भनाइ थियो। ‘हामीलाई कतै पनि ध्यान दिनुपर्नेछैन,’ उनले भने।
सभापतिले राहत वितरण तथा उद्धारका क्रममा स्थानीय प्रशासनसँग समन्वय गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्ता र सरोकारवालालाई आग्रहसमेत गरे। विपद्को समयमा असंगठित रूपमा राहत सामग्री लिएर जानेभन्दा स्थानीय आवश्यकता पहिचान गरी प्रशासन र सम्बन्धित निकायसँग समन्वय गर्दा सहायता प्रभावकारी हुने उनले बताएका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्