काठमाडौं । तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको बाढीको जोखिमलाई मध्यनजर गर्दै सरकारले भोटेकोशी, त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विशेष सूचना जारी गर्दै अर्को सूचना नआएसम्म नदी किनार तथा तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन र सम्भावित जोखिमबाट जोगिन अनुरोध गरेको हो।
प्राधिकरणले रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन र तनहुँ जिल्लाका नदी तटीय क्षेत्रमा रहेका परिवारलाई तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।
तीन सडकमा यात्रा नगर्न आग्रह
सम्भावित बाढी र सडक जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिङ–नारायणगढ सडकखण्डमा यात्रा नगर्न अनुरोध गरेको छ।
स्थानीय तह तथा प्रशासनलाई आवश्यक तयारी गर्न, जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र सम्भावित सडक अवरोधलाई ध्यानमा राख्दै पूर्वतयारी अवस्थामा रहनसमेत आग्रह गरिएको छ।
बाढीको बहाव बढ्न सक्ने भएकाले नदी, खोला तथा तटीय क्षेत्रमा नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट जारी हुने आधिकारिक सूचनाको पालना गर्न प्राधिकरणले अनुरोध गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्