काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भूकम्पपछि हिमपहिरो झरेका कारण भोटेकोसीमा बाढी आएको प्रारम्भिक सूचना प्राप्त भएको प्रतिनिधिसभालाई जानकारी दिएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी दिँदै मन्त्री खनालले बिहान ८ बजेर ३७ मिनेटमा सो क्षेत्रमा भूकम्प गएको र त्यसपछि हिमपहिरो झरेर बाढी आएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए ।
उनले घटनाको वास्तविक कारणबारे थप तथ्य प्रमाणित गर्न बाँकी रहेको समेत स्पष्ट पारे ।
रसुवा र नुवाकोटमा ठूलो क्षति
मन्त्री खनालका अनुसार बिहान करिब ८ः४० बजे भोटेकोसीमा आएको बाढीले रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा क्षति पुर्याएको छ ।
बाढीबाट टिमुरे, स्याप्रुबेसी, बेत्रावती, त्रिशूली, बटार र देवीघाट लगायतका क्षेत्रमा क्षति पुगेको जानकारी प्रतिनिधिसभामा दिइएको छ ।
नदी तटीय क्षेत्रमा उच्च सतर्कता
भोटेकोसी तथा त्रिशूली नदी क्षेत्रमा जोखिम कायम रहेकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभिन्न माध्यमबाट सूचना जारी गरिएको मन्त्री खनालले बताए ।
उनले नदीको बहाव बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन तथा सम्बन्धित निकायले जारी गर्ने सुरक्षा निर्देशन पालना गर्न आग्रह गरे ।
घटनाको कारण तथा क्षतिको विस्तृत विवरण भने संकलन तथा प्रमाणीकरणको क्रममा रहेको बताइएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्