रसुवा । भोटेकोसी बाढीका घाइते खोज्दै अस्पताल धाउँदै आफन्त, याङछिनको आँखामा आफ्ना मान्छेको पर्खाइ
रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा घाइते भएका ३५ जनालाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ।
उद्धार गरिएका घाइतेमध्ये ३० जनाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल, तीन जनाको ट्रमा सेन्टर र दुई जनाको वीर अस्पतालमा उपचार भइरहेको छ।
बाढीपछि काठमाडौंमा रहेका आफन्तहरू भने आफ्ना परिवारका सदस्य घाइते भएर आएका छन् कि छैनन् भनेर अस्पताल धाइरहेका छन्। अस्पताल परिसरमा आफन्तको खोजीमा पुगेकाहरूको भीड देखिन्छ।
यस्तै, काठमाडौंमा बस्दै आएकी याङछिन तामाङ पनि आफ्ना आफन्तको खोजी गर्दै त्रिवि शिक्षण अस्पताल पुगेकी छन्। उनी यसअघि ग्रान्डी र ग्रिनसिटी अस्पतालमा समेत आफन्तको खोजीका लागि पुगेकी थिइन्।
याङछिनका अनुसार उनका ससुरा, सासू, दिदी–भिनाजुलगायत दर्जनभन्दा बढी आफन्त रसुवाको केरुङ नाकामा काम गर्छन्।
‘हाम्रा आफन्तहरू केरुङ नाकामै काम गर्ने हो। भाग्न सक्ने अवस्था थिएन रे,’ रुँदै उनले भनिन्, ‘हेलिकप्टरले मान्छे ल्याउँदा हाम्रो मान्छे पर्यो कि भनेर हेर्न आएको।’
भोटेकोसीमा आएको बाढीले रसुवामा ठूलो जनधनको क्षति पुर्याएपछि घाइते तथा बेपत्ताका आफन्तहरूमा चिन्ता बढेको छ। उद्धार गरेर काठमाडौं ल्याइएका घाइतेको पहिचान खुल्दै जाँदा आफन्तहरू अस्पतालमा आफ्ना मान्छेको खोजीमा पुगिरहेका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्