काठमाडौं । एक सातापछि विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने तयारीमा रहेको रसुवाको निर्माणाधीन लाङटाङ खोला जलविद्युत् आयोजना भोटेकोसीमा आएको भीषण बाढीले तहसनहस भएको छ।
आयोजनाको पावर हाउस बाढीले पूर्णरूपमा बगाएको छ भने सुरुङभित्र काम गरिरहेका करिब ६० जना कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्।
बुधबार बिहान चीनको तिब्बततर्फबाट भोटेकोसी नदीमा आएको बाढीले आयोजना क्षेत्रमा ठूलो क्षति पुर्याएको हो। निर्माण कम्पनी मल्टी इनर्जी प्रालिका प्रबन्ध निर्देशक विजयमोहन भट्टराईका अनुसार बाढी आउँदा कर्मचारी तथा कामदार सुरुङभित्र कंक्रिट ढलानको काममा व्यस्त थिए।
आयोजनामा मल्टी इनर्जीका इन्जिनियर, ओभरसियर, गार्ड तथा भान्छेसहित २५ जना र पेटी कन्ट्र्याक्टरतर्फका करिब ३५ जना मजदुर कार्यरत थिए। उनीहरू बिहानदेखि सम्पर्कमा नरहेको भट्टराईले बताए।
‘अर्को साता बत्ती बाल्ने तयारी थियो। तीन दिनअघि मात्रै फिल्डमा गएर आएको थिएँ,’ भट्टराईले भने, ‘आयोजना त फेरि बनाउँला। तर हाम्रा काबिल इन्जिनियर र मजदुरहरूको अवस्था अज्ञात हुँदा मन बेचैन भएको छ।’
उनका अनुसार बाढीले पावर हाउसको संरचना नै नरहने गरी क्षति पुर्याएको छ। बाढीको पानी प्राकृतिक जलसतहभन्दा करिब १२५ मिटर माथिसम्म पुगेको उनले बताए।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का सचिवसमेत रहेका भट्टराईले घटनालाई सामान्य बाढी नभई ‘महाप्रलय’ को संज्ञा दिएका छन्।
उनले आयोजनामा भएको भौतिक क्षतिभन्दा पनि सम्पर्कविहीन कर्मचारी तथा मजदुरको खोजीलाई अहिले प्राथमिकतामा राख्नुपर्ने बताए।
‘प्रोजेक्ट त फेरि बनाऔँला। तर मान्छे कहाँबाट ल्याउने ?’ भन्दै भट्टराईले मानवीय क्षति नै अहिले सबैभन्दा ठूलो चिन्ताको विषय रहेको बताए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्