काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि सर्लाहीका इन्जिनियर सुनिल कुशवाहा सम्पर्कविहीन भएका छन्।
सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीका स्थायी बासिन्दा कुशवाहा फेवा कन्स्ट्रक्सनअन्तर्गत निर्माणाधीन त्रिशूली हाइड्रोपावर थ्रीबी आयोजनामा कार्यरत थिए। बाढी आएयता उनीसँग परिवारजनको सम्पर्क हुन नसकेको जनाइएको छ।
परिवारका अनुसार कुशवाहाको मोबाइल फोनसमेत बन्द रहेको छ। सर्लाहीकै बासिन्दा नेकपाकी नेता आरती लामाले पनि बाढीपछिदेखि कुशवाहासँग सम्पर्क हुन नसकेको जानकारी दिएकी छन्।
कुशवाहा कार्यरत आयोजना तथा आसपासको क्षेत्र बाढीबाट प्रभावित भएपछि उनको अवस्थाबारे परिवार थप चिन्तित बनेको छ। परिवारजनले उनको खोजी तथा अवस्थाबारे जानकारी उपलब्ध गराउन सुरक्षा निकाय र सम्बन्धित प्रशासनसँग आग्रह गरेका छन्।
बाढीपछि उनी कहाँ र कुन अवस्थामा छन् भन्नेबारे हालसम्म यकिन जानकारी प्राप्त हुन सकेको छैन। प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले परिवारले इन्जिनियर कुशवाहाको खोजीलाई प्राथमिकता दिन सम्बन्धित निकायसँग अपिल गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्