भोजपुर । भोजपुर नगरपालिकाकी उपमेयर निर्मला शेर्पामाथि नगरपालिकाकै एक कर्मचारीमाथि हातपात गरेको आरोप लागेको छ। पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना (नाफा) परियोजनामा कार्यरत कर्मचारी तथा नेकपा एमालेका नेता ध्रुवराज राईले उपमेयर शेर्पाले आफ्नै कार्यकक्षमा बोलाएर आफूमाथि दुर्व्यवहार र हातपात गरेको आरोप लगाएका छन्।
राईले सामाजिक सञ्जाल फेसबुकमार्फत उपमेयर शेर्पाले आफूलाई पार्टी परिवर्तन नगरेको विषय उठाउँदै अश्लील शब्द प्रयोग गरेको र रिमोटले झट्टी हानेको दाबी गरेका छन्।
“आफ्नै चेम्बरमा बोलाएर पार्टी परिवर्तन किन नगरेको भन्दै अश्लील शब्द प्रयोग गर्दै हातपात गर्ने तपाईं तानाशाही बन्नु खोज्ने भोजपुर नगरपालिकाको उपमेयर निर्मला शेर्पाप्रति मेरो घोर आपत्ति छ,” राईले लेखेका छन्, “म एक कर्मचारी भएको नाताले न्याय माग गर्दछु।”
राई नेकपा एमालेका नेतासमेत हुन्। एमालेले उनलाई श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने तयारीसहित पार्टीविरोधी गतिविधिमा लागेको आरोप लगाउँदै पदमुक्त गर्न सिफारिस गरेको बताइएको छ।
उपमेयर शेर्पाको खण्डन
यता उपमेयर शेर्पाले भने कर्मचारीमाथि कुटपिट गरेको आरोप अस्वीकार गरेकी छन्। कार्यालयको कामप्रति उदासीनता देखिएको भन्दै आफूले कर्मचारी राईलाई बोलाएर कामका विषयमा स्पष्टीकरण मागेको, तर कुनै राजनीतिक विषयमा विवाद नभएको उनको दाबी छ।
उनले भनिन्, “मैले बोलाएर काम किन नउकासेको भनेर सोधेको थिएँ। ऊ कर्मचारीको हैसियतमा नबस्ने, दुनियाँ राजनीतिक स्टाटसहरू लेखिबस्छ। अफिस टाइममा राजनीतिक गतिविधि नगर्नू भनेको हो।”
शेर्पाका अनुसार सेवाग्राहीबाट आएको उजुरीका विषयमा छलफल भएको थियो। घटनाका बेला अन्य कर्मचारीसमेत उपस्थित रहेको उल्लेख गर्दै उनले आफूमाथि लगाइएको हातपातको आरोप गलत भएको बताएकी छन्।
घटनाबारे कर्मचारी र उपमेयरबीच फरक–फरक दाबी आएपछि यस विषयमा थप तथ्य बाहिर आउन बाँकी छ।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्