काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा आएको भीषण बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
महासचिव गुटेरेसले बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। साथै, बेपत्ता भएका व्यक्तिका परिवारजनप्रति ऐक्यबद्धता जनाउँदै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।
उनले बाढीबाट प्रभावित नेपाल र चीनका सबै नागरिकप्रति संयुक्त राष्ट्रसंघको पूर्ण साथ र ऐक्यबद्धता रहेको बताएका छन्।
सरकारको नेतृत्वमा विपद् प्रतिकार्यमा सहयोग
नेपालमा संयुक्त राष्ट्रसंघले सरकारको नेतृत्वमा भइरहेको विपद् प्रतिकार्य तथा राहत अभियानमा पूर्ण सहयोग गरिरहेको गुटेरेसले उल्लेख गरेका छन्। प्रभावित क्षेत्रको वास्तविक क्षतिको मूल्याङ्कन, मानवीय आवश्यकताको पहिचान तथा तत्काल आपत्कालीन सहायता उपलब्ध गराउने कार्यमा राष्ट्रसंघीय निकायहरू सक्रिय रहेको बताइएको छ।
राहत सामग्री र दक्ष जनशक्ति परिचालन
प्रभावित समुदायलाई तत्काल सहयोग पुर्याउन राष्ट्रसंघीय टोली तथा विभिन्न मानवीय सहायता साझेदारहरूले आवश्यक राहत सामग्री र दक्ष जनशक्ति परिचालन गरिरहेको महासचिव गुटेरेसले जानकारी दिएका छन्।
उनले बाढी प्रभावित क्षेत्रमा जीवनरक्षाका लागि खटिएका उद्धारकर्मी, सुरक्षा निकाय र आपत्कालीन सेवामा संलग्न सबैको प्रशंसा गरेका छन्।
महासचिव गुटेरेसले प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि आवश्यक परे संयुक्त राष्ट्रसंघ थप मानवीय सहायता परिचालन गर्न पूर्ण रूपमा तयार रहेको प्रतिबद्धता दोहोर्याएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्