मकवानपुर । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा गएका मकवानपुरका ४० जनाको अवस्थाबारे जानकारी गराउन परिवारजनले जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरेका छन्।
मकवानपुरबाट गोसाइँकुण्डलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रमा दर्शन र भ्रमणका लागि गएका, सवारीसाधन चलाउँदै आएका तथा विभिन्न पेसामा आबद्ध ४० जनाका आफन्तले उनीहरूको अवस्था बुझिदिन प्रशासनसमक्ष अनुरोध गरेका हुन्।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सञ्चार सम्पर्क सहज नभएका कारण कतिपय व्यक्तिको अवस्थाबारे जानकारी प्राप्त हुन सकेको छैन। आफन्तले सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेपछि उनीहरू चिन्तित बनेका छन्।
प्रशासनले सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी उनीहरूको अवस्थाबारे जानकारी लिने तथा खोजी गर्ने प्रयास गरिरहेको जनाएको छ।
मकवानपुर हेटौँडा प्रदेश राजधानीसमेत भएकाले विपद्का बेला उद्धार तथा राहतका लागि आवश्यक जनशक्ति र स्रोतसाधन परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो।
बाढी प्रभावित क्षेत्रमा सञ्चार तथा सडक सम्पर्क अवरुद्ध रहेकाले सम्पर्कविहीन व्यक्तिको यकिन अवस्था पत्ता लगाउन कठिनाइ भइरहेको प्रशासनले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्