काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन पर्यटकको संख्या ६४४ पुगेको छ। नेपाल पर्यटन बोर्डले पछिल्लो विवरण सार्वजनिक गर्दै विभिन्न देशका पर्यटक तथा नेपाली नागरिकसँग समेत सम्पर्क हुन नसकेको जनाएको छ।
बोर्डका अनुसार सम्पर्कविहीन हुनेमध्ये सबैभन्दा धेरै १७८ जना भारतीय नागरिक रहेका छन्। यस्तै, १२७ जना नेपाली पर्यटक, ६५ जना अमेरिकी तथा ५३ जना युक्रेनी पर्यटक सम्पर्कविहीन रहेको तथ्यांकमा उल्लेख छ।
त्यस्तै, मलेसियाका ५१ जना, अष्ट्रेलियाका ३५ जना, बेलायतका ३३ जना र क्यानडाका २५ जना पर्यटकसँग पनि सम्पर्क हुन सकेको छैन।
नेपाल पर्यटन बोर्डका अनुसार सिंगापुरका नौ जना, रुसका आठ जना, जर्मनीका आठ जना तथा लात्भिया र दक्षिण अफ्रिकाका छ–छ जना पर्यटक पनि सम्पर्कविहीन रहेका छन्।
ट्राभल एजेन्सीमार्फत विवरण संकलन
नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सी तथा विभिन्न पर्यटन कम्पनीमार्फत सम्पर्कविहीन पर्यटकको विवरण संकलन गरिरहेको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क र यातायात अवरुद्ध भएकाले कतिपय पर्यटकको अवस्थाबारे तत्काल जानकारी प्राप्त गर्न कठिनाइ भइरहेको छ।
भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य उद्धार टोलीले खोजी र उद्धार कार्यलाई निरन्तरता दिएका छन्। पर्यटन बोर्डले प्राप्त विवरणलाई थप अद्यावधिक गर्दै सम्पर्कविहीन पर्यटकको अवस्थाबारे जानकारी संकलन गरिरहेको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्