काठमाडौं । नेपाल राष्ट्र बैंकले विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा व्यवस्थापनका लागि सरकारद्वारा सञ्चालन गरिएका कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने व्यवस्था गरेको छ।
राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न चाहने व्यक्ति वा संस्थाका लागि विद्यमान कारोबार सीमा लागू नहुने जनाएको छ।
यससम्बन्धी व्यवस्था गर्दै राष्ट्र बैंकले सर्कुलर जारी गरेको हो। बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग रकम सहज रूपमा जम्मा गर्न सकियोस् भन्ने उद्देश्यले उक्त व्यवस्था गरिएको जनाइएको छ।
हाल विद्युतीय भुक्तानी प्रणालीअन्तर्गत मोबाइल बैंकिङमार्फत दैनिक अधिकतम तीन लाख रुपैयाँसम्म तथा इन्टरनेट बैंकिङमार्फत दैनिक २० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिन्छ।
तर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग रकम जम्मा गर्ने प्रयोजनका लागि भने राष्ट्र बैंकले उक्त कारोबार सीमा लागू नहुने व्यवस्था गरेको छ।
यससँगै व्यक्ति, संघसंस्था तथा अन्य सहयोगदाताले बाढी प्रभावित नागरिकको सहयोगका लागि सरकारी राहत कोषमा आफ्नो क्षमता अनुसार ठूलो रकमसमेत विद्युतीय माध्यमबाट पठाउन सक्ने भएका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्