नुवाकोट । भोटेकोसी नदीमा आएको भीषण बाढीले विदुर नगरपालिका–७ मा ठूलो क्षति पुर्याएपछि वडाध्यक्ष रविन्द्र नेपाल निकै हतासिनुभएको छ। बाढी गएको ३२ घण्टा बितिसक्दा पनि वडाका बेपत्ता नागरिकको यथार्थ विवरण सार्वजनिक गर्न उहाँलाई कठिनाइ भइरहेको छ।
बेपत्ता आफन्तको अवस्थाबारे जानकारी लिन भन्दै स्थानीयवासीबाट वडाध्यक्ष नेपालको फोनमा निरन्तर सम्पर्क भइरहेको छ। “मेरो आफन्त पनि मिसिङ हुनुहुन्छ, केही जानकारी पाइयो कि अध्यक्षज्यू?” भन्ने प्रश्न लिएर धेरैले फोन गर्ने गरेको उहाँले बताउनुभयो।
तर, उहाँसँग तत्काल दिन सक्ने ठोस जानकारी छैन। “हजुर, खोजी कार्य भइरहेको छ। हामी नगरका सबै लागेकै छौँ। प्रहरी र सेनासँग समन्वय भइरहेको छ,” उहाँले आफन्तलाई जवाफ दिने गर्नुभएको छ।
त्रिशूली नदी किनारमा रहेका सोलेबजार र अक्करे बजार बाढीले पूर्ण रूपमा बगाएको छ। ती बजारमा ठूलो संख्यामा मानिस बेपत्ता भएकाले आफन्तबाट निरन्तर जानकारी खोज्ने क्रम चलिरहेको वडाध्यक्ष नेपालले बताउनुभयो।
उहाँका अनुसार हालसम्म केही घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ। तर, बाढीमा बेपत्ता भएकाहरूको अवस्थाबारे भने अहिलेसम्म यकिन जानकारी प्राप्त हुन सकेको छैन।
“जति हराए, हराएकै छन्, अहिलेसम्म केही अत्तोपत्तो पाइएको छैन,” उहाँले भन्नुभयो, “विदुर–७ नम्बर वडाबाट मात्र सयभन्दा बढी बेपत्ता भएका छन्। ८५ जनाको संख्या नै गनेर यकिन गरिसक्यौँ। १५–२० जना विद्यार्थी भाइबहिनी पनि मिसिङ भएको जानकारी आएको छ।”
दुई सय घर विस्थापित
भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीले वडामा व्यापक क्षति पुर्याएको वडाध्यक्ष नेपालले बताउनुभयो।
उहाँका अनुसार बाढीका कारण वडाका करिब २०० घरपरिवार विस्थापित भएका छन्। प्रभावित तथा विस्थापित नागरिकको उद्धार, खोजी र राहतका लागि स्थानीय तहले सुरक्षा निकायसँग समन्वय गरिरहेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्