बागलुङ । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा भएको जनधनको क्षतिपछि राहत तथा खोजी–उद्धारका लागि गलकोट नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले आर्थिक सहयोग गर्ने भएका छन्।
नगरप्रमुख भरत शर्मा गैरेको नेतृत्वमा बिहीबार बसेको बैठकले जनप्रतिनिधि तथा कर्मचारीले व्यक्तिगत रूपमा संकलन गरेको ६ लाख ७० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
नगरपालिकाले जारी गरेको विज्ञप्तिमा बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ। साथै, घाइतेहरूको उपचारमा सहयोग गर्ने र खोजी–उद्धार तथा अन्य आवश्यक कार्यमा पूर्ण रूपमा ऐक्यबद्धता जनाउने निर्णय गरिएको उल्लेख छ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा स्थानीय तह, विभिन्न संघसंस्था तथा नागरिकस्तरबाट राहत सामग्री र आर्थिक सहयोग जुटाउने क्रम बढिरहेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्