पोखरा । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि गण्डकी प्रदेशका विभिन्न जिल्लाका झण्डै १ सय जना नागरिक अझै सम्पर्कविहीन रहेको पाइएको छ।
नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयबाट प्राप्त प्रारम्भिक विवरणअनुसार गण्डकीका ११ जिल्लामध्ये मनाङ, मुस्ताङ र नवलपुरबाहेक अन्य जिल्लाका नागरिक बाढीपछि सम्पर्कमा नआएका हुन्। उनीहरूमध्ये अधिकांश रसुवा घुम्न, रोजगारी तथा कामको सिलसिलामा पुगेका थिए।
गोरखाका सबैभन्दा धेरै सम्पर्कविहीन
प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठका अनुसार गोरखाका ५१ जना नागरिक सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण आएको छ। उनका अनुसार यो संख्या अझै बढ्न सक्ने सम्भावना छ।
कास्कीबाट १६ जनाका आफन्तले खोजीका लागि प्रशासनमा निवेदन दिएका छन्। पोखराका विभिन्न वडाका सविना पौडेल, छमप्रकाश थापा, मनु बुढा, सृष्टि बास्तोला, अभिषेकश आचार्य, लीलाबहादुर थापा, सुमन श्रेष्ठ, देवीकुमारी गुरुङ, विनु गुरुङ र गोविन्दबहादुर अधिकारीलगायत सम्पर्कविहीन छन्।
काठमाडौं स्थायी ठेगाना भएका राजेश शर्मा, प्रमिला पाठक र उनका दुई सन्तानसमेत सम्पर्कमा नआएको आफन्तले बताएका छन्।
यस्तै, पर्वतका स्याफ्रुबेँसीस्थित एक बैंकका प्रबन्धक शिव लम्साल पनि सम्पर्कविहीन छन्। तनहुँका तीन, बागलुङका ११, म्याग्दीका दुई, लमजुङका १० र स्याङ्जाका आठ जना पनि सम्पर्कमा नआएको जानकारी प्राप्त भएको छ। नवलपुरबाट पनि केही व्यक्ति सम्पर्कविहीन भएको अनुमान गरिए पनि औपचारिक विवरण प्राप्त भइसकेको छैन।
पोखरा ल्याइँदै शव
रसुवा बाढीपछि गण्डकी प्रदेशका गोरखा, तनहुँ र नवलपुरमा ठूलो संख्यामा शव फेला परेका छन्। प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार तनहुँमा २३, गोरखामा ३२ र नवलपुरमा ८२ जनाको शव फेला परेको छ।
एकैपटक धेरै शव भेटिएपछि व्यवस्थापनमा समस्या भएको प्रहरीले जनाएको छ। बिहीबार २१ वटा शव पोखरा ल्याइएको छ भने गोरखाबाट थप ११ र नवलपुरबाट ४१ वटा शव पोखरा ल्याउने तयारी गरिएको छ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार चितवनमा शव राख्ने स्थान अभाव भएपछि चितवन र नवलपरासीमा फेला परेका शव पोस्टमार्टमका लागि पोखरा ल्याइएको हो।
उद्धार र राहतमा राज्यका सबै संयन्त्र परिचालन
बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका प्रधानमन्त्री वालेन्द्र शाहले नागरिकको जीवनरक्षा, बेपत्ता भएकाको खोजी, घाइतेको उपचार तथा पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउनु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।
प्रधानमन्त्री शाहले नुवाकोट पुगेर स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धार टोलीसँग प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिएका थिए।
यसैबीच, सिंहदरबारमा बसेको सर्वदलीय बैठकले उद्धार तथा राहतलाई प्रभावकारी बनाउने, दीर्घकालीन पुनर्निर्माण गर्ने र जोखिम न्यूनीकरणका लागि एकताबद्ध भएर काम गर्ने निर्णय गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्