काठमाडौं । प्रधानमन्त्री राहत कोषमा गण्डकी प्रदेशका सांसद विन्दु कुमार थापाले पाँच लाख रुपैयाँ सहयोग गरेका छन् ।
५ लाख रुपैयाँ महाविपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको उनले जानकारी दिएका छन् ।
बुधवार रसुवामा आएको बाढीले देशमै महाविपत्तिको अवस्था सिर्जना भएको थापाले उल्लेख गरेका छन् ।
घाइतेहरूको उद्धार तथा उपचार र प्रभावित क्षेत्रको पुनर्निर्माणमा सबैले हातेमालो गर्नु पर्नेमा जोड दिएका छन्। थापाले निर्वाचित हुनुअघि नै राज्यबाट प्राप्त हुने सेवा–सुविधालाई सामाजिक सेवा तथा नागरिकको हितमा खर्च गर्ने प्रतिबद्धता गरेको स्मरण गराएका छन् ।
सांसदका रूपमा प्राप्त पारिश्रमिक तथा सेवा–सुविधाबाट राष्ट्र र नागरिकका निम्ति खर्च गरिने उनले बताए । उनले मन्त्रीको जिम्मेवारीमा रहँदा तथा हाल प्रदेश सांसदका रूपमा सेवा गरिरहँदा प्राप्त आर्थिक सुविधालाई सामाजिक तथा सार्वजनिक हितका लागि खर्च गर्दै आएको बताएका छन्।
‘यो सङ्कट कुनै दल, विचार वा क्षेत्र विशेषको मात्र नभई सिङ्गो देशको साझा सङ्कट भएको उल्लेख गर्दै दल, विचार र क्षेत्रभन्दा माथि उठेर विपत्तिको सामना गर्न सबै जना एकजुट हुनुपर्छ,’ सांसद थापाले भनेका छन् ।
गण्डकी प्रदेशका पूर्व कानून, सञ्चार तथा सूचना प्रविधि मन्त्री र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री एवम् वर्तमान सांसद थापाले गण्डकी सांसद हुँदादेखि प्रदेश सरकारबाट पाउने पारिश्रमिक एवम् अन्य सरकारी सेवा, सुविधा बापतको रकम सामाजिक कार्यमा खर्च गर्दै आएका छन् ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्