काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्न एक करोड अमेरिकी डलर, अर्थात् करिब एक अर्ब ५२ करोड रुपैयाँ बराबरको आर्थिक सहायता घोषणा गरेको छ।
यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानको निर्देशनमा उक्त सहायता उपलब्ध गराइने जनाइएको छ। सहायता यूएई सहायता एजेन्सीमार्फत प्रदान गरिनेछ।
यूएई सहायता एजेन्सीका टोलीहरू नेपालका स्थानीय अधिकारी तथा विभिन्न अन्तर्राष्ट्रिय संस्थासँग समन्वय गरी राहत तथा सहयोगका लागि आवश्यक कार्यमा जुटिरहेका छन्।
मानवीय सहयोगप्रति प्रतिबद्धता
यूएई सहायता एजेन्सीका अध्यक्ष डा. तारिक अहमद अल अमिरीले प्राकृतिक विपद् र मानवीय संकटका बेला प्रभावित व्यक्ति तथा समुदायलाई तत्काल राहत उपलब्ध गराउन यूएई प्रतिबद्ध रहेको बताएका छन्।
उनले मानवीय एकता र अन्तर्राष्ट्रिय सहकार्यलाई थप सुदृढ बनाउँदै विपद्बाट प्रभावित समुदायलाई आवश्यक सहयोग पुर्याउन सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएका छन्।
नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा उक्त आर्थिक सहयोग उपयोग हुने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्