काठमाडौँ । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न पाँच जलविद्युत् आयोजनामा कार्यरत २१५ जना कर्मचारी सम्पर्कविहीन भएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार बुधबार आएको बाढीपछि रसुवा क्षेत्रका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीसँग सम्पर्क हुन नसकेको हो।
निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत एन्ड्रिज हाइड्रोका ७६ जना कर्मचारी सम्पर्कविहीन छन्। तीमध्ये आधा नेपाली र आधा विदेशी नागरिक रहेको इप्पानले जनाएको छ।
आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका ११ जना कर्मचारी पनि सम्पर्कविहीन छन्, जसमध्ये आठ जना कोरियाली नागरिक रहेको बताइएको छ।
त्यस्तै, आयोजनाको परामर्शदाता जेड कन्सल्ट र लामा जेभियर्स जेभीका सात जना कर्मचारीसमेत सम्पर्कविहीन रहेका छन्।
इप्पानका अनुसार आयोजनाको हेडवर्क्स क्षेत्रमा १२ जना तथा विद्युत्गृह क्षेत्रमा दुई सयभन्दा बढी व्यक्ति उद्धारको प्रतीक्षामा छन्। आयोजना स्थलबाट पहिलो चरणको उद्धार गरिएको भन्ने जानकारी आए पनि त्यसको आधिकारिक पुष्टि हुन बाँकी रहेको इप्पानले जनाएको छ।
रसुवागढी र मैलुङ खोलामा पनि सम्पर्कविहीन
रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ५१ जना कर्मचारी सम्पर्कविहीन रहेका छन्। टिमुरे क्षेत्रमा तीन जना कर्मचारी अग्लो स्थानमा पुगेर ज्यान जोगाउन सफल भए पनि उनीहरूसँग सञ्चार सम्पर्क स्थापित हुन सकेको छैन।
त्यस्तै, ५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा कार्यरत आठ जना कर्मचारी बुधबारदेखि सम्पर्कविहीन छन्।
इप्पानका अनुसार घटनास्थलको अवस्था बुझ्न हेलिकप्टरमार्फत अवलोकन गर्ने प्रयास भइरहेको छ। सिनो हाइड्रोका दुई जना कर्मचारी हराइरहेका छन् भने पाँच जना नजिकैको गाउँमा शरण लिएर बसेका छन्। उनीहरूमध्ये तीन जना चिनियाँ र दुई जना नेपाली नागरिक उद्धारको प्रतीक्षामा रहेका बताइएको छ।
लाङटाङ खोलाको सुरुङमा ६० जना सम्पर्कविहीन
भोटेकोशी बाढीको प्रभावका कारण २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा सुरुङभित्र रहेका ६० जना कर्मचारी तथा कामदारसँग समेत सम्पर्क स्थापित हुन सकेको छैन।
सम्पर्कविहीनमध्ये २५ जना कर्मचारी र ३५ जना कामदार रहेका छन्। उनीहरूको अवस्था हालसम्म अज्ञात रहेको इप्पानले जनाएको छ।
आयोजनाका विकासकर्ता कम्पनीका प्रतिनिधिले घटनास्थलमा पुगेर उद्धारको प्रयास अघि बढाए पनि हेलिकप्टरको व्यवस्था हुन नसकेको बताइएको छ।
इप्पानले माग्यो तत्काल उद्धार
इप्पानले बाढीबाट प्रभावित जलविद्युत् आयोजनामा फसेका तथा सम्पर्कविहीन कर्मचारीको खोजी र उद्धारका लागि तत्काल आवश्यक पहल गर्न सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ।
बाढीबाट जलविद्युत् आयोजना र आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको उल्लेख गर्दै इप्पानले सम्पर्कविहीन कर्मचारीको अवस्थाबारे यथाशीघ्र जानकारी संकलन गरी उद्धार कार्यलाई प्राथमिकता दिन माग गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्