भक्तपुर । जनैपूर्णिमाका दिन अधिकांश मानिस मठमन्दिरमा पूजाअर्चना र धार्मिक कार्यक्रममा व्यस्त रहँदा भक्तपुरका नेवार समुदायका किसान भने शुक्रबार बिहानै खेतमा पुगेर भ्यागुताको पूजा गर्दै भात तथा विभिन्न परिकार खुवाउने परम्परा निभाएका छन्।
किसानहरू बिहानै भात, क्वाँटी, विभिन्न तरकारी, साना रोटी तथा अन्य परिकार लिएर खेततर्फ पुगेका थिए। नाङ्लो वा किस्तीमा सजाइएका परिकारसँगै रक्षाबन्धनको धागो, सिन्दूर र धूपसमेत राखेर भ्यागुताको पूजा गरिएको थियो।
परम्पराअनुसार किसानहरूले भातमा गोलाकार रूपमा काटिएका मूलाका चाना गाडेर ऐनाको प्रतीक बनाउँछन्। त्यससँगै विभिन्न खानेकुरा खेतको आलीमा राखेर भ्यागुतालाई पाहुनाका रूपमा आमन्त्रण गरिन्छ।
पूजाका क्रममा भ्यागुतो प्रत्यक्ष रूपमा नदेखिए पनि सांकेतिक रूपमा रक्षाबन्धनको धागो र सिन्दूर अर्पण गर्ने चलन रहेको स्थानीय बताउँछन्। खेतमा राखिएका परिकार पछि भ्यागुताले खाने जनविश्वास छ।
भक्तपुरका नेवार समुदायमा सयौँ वर्षदेखि चलिआएको यस परम्परालाई नेपालभाषामा ‘ब्यां चा जानका वानेगू’ भनिन्छ। नेपालभाषामा ‘ब्यां’को अर्थ भ्यागुतो र ‘जानका वानेगू’को अर्थ खाना खान जानु भन्ने हुन्छ।
स्थानीय संस्कृतकर्मी प्रकाश धौभडेलका अनुसार यो परम्परा प्रकृतिसँग जोडिएको छ। किसानले आफ्नो खेतीपाती र वातावरणसँग प्रत्यक्ष सम्बन्ध राख्ने जीवका रूपमा भ्यागुतालाई सम्मान गर्दै प्रत्येक वर्ष जनैपूर्णिमाका दिन पूजा र भोज खुवाउने गर्छन्।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गका अनुसार भ्यागुतालाई किसानको सहयोगी जीवका रूपमा लिइन्छ। भ्यागुताले बालीनालीलाई हानि पुर्याउने विभिन्न कीरा तथा जीव खाएर खेती जोगाउन सहयोग गर्ने विश्वासका कारण उनीहरूलाई सम्मानस्वरूप भोज खुवाउने परम्परा बसेको हो।
खेतमा काम गर्ने क्रममा अनजानमा कीराफट्याङ्ग्रा तथा अन्य जीवजन्तुको मृत्यु हुने भएकाले प्रकृतिसँग क्षमा माग्ने सांकेतिक परम्पराका रूपमा पनि भ्यागुतालाई भात खुवाउने चलन रहेको बताइन्छ।
जनैपूर्णिमाका दिन मनाइने यो अनौठो सांस्कृतिक परम्पराले भक्तपुरको नेवार समुदाय र प्रकृतिबीचको पुरानो सम्बन्धलाई आज पनि जीवन्त राखिरहेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्