काठमाडौं । भारतको उत्तर प्रदेशस्थित महराजगंज र कुशीनगर जिल्लामा सातवटा शव फेला परेका छन्। ती शव नेपालबाट आएको बाढीले बगाएर भारततर्फ पुर्याएको हुन सक्ने आशंका गरिएको छ।
महराजगंज क्षेत्रमा गण्डक अर्थात् नारायणी नदीबाट चारवटा र कुशीनगर जिल्लामा तीनवटा शव फेला परेको भारतीय अधिकारीहरूले बताएका छन्।
फेला परेकामध्ये पाँच जना महिला र दुई जना पुरुष रहेका छन्। सशस्त्र सीमा बल (एसएसबी) को उद्धार टोलीले नदीमा निगरानी गर्ने क्रममा बगिरहेका शव देखेपछि मोटरबोटको सहयोगमा बाहिर निकालेको थियो।
शवहरूलाई महराजगंज र कुशीनगर जिल्ला मुख्यालय पठाइएको भए पनि हालसम्म कसैको पनि पहिचान खुल्न सकेको छैन।
निचलौल तहसीलका उपजिल्लाधिकारी सिद्धार्थ गुप्ताका अनुसार बिहीबार दिउँसो गण्डक नदीबाट चारवटा शव फेला परेका थिए। तीमध्ये तीन जना महिला र एक जना पुरुष रहेका छन्।
उनका अनुसार शव नेपालबाट बगेर आएको हुन सक्ने आशंका गरिएको छ। शवको पहिचानका लागि भारतीय अधिकारीहरूले नेपालका सम्बन्धित निकायसँग समेत समन्वय गरिरहेका छन्।
नदी किनारमा एसडीआरएफ, आरआरटी र एसएसबीका टोलीले निरन्तर निगरानी गरिरहेका छन्।
यस्तै, कुशीनगरमा तीनवटा शव फेला परेका छन्। कुशीनगरका अतिरिक्त प्रहरी उपरीक्षक सिद्धार्थ वर्माका अनुसार तीमध्ये दुई जना महिला र एक जना पुरुष रहेका छन्।
तीनवटै शवलाई पहिचानका लागि सुरक्षित राखिएको छ। मृतकको पहिचान गर्न तथा उनीहरूका आफन्त पत्ता लगाउन एसएसबी र जिल्ला प्रशासनले नेपालका सम्बन्धित अधिकारीसँग समन्वय गरिरहेको जनाएको छ।
बाढीका कारण नदीमा बगेका अन्य शव पनि भारततर्फ आइपुग्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै भारतीय सुरक्षा तथा उद्धार निकायले सीमा क्षेत्र र नदी आसपासमा निगरानी बढाएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्