काठमाडौँ । रसुवाको भोटेकोसीमा गत बुधबार आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन नागरिकको खोजी तथा शव व्यवस्थापनका लागि नेपाली सेनाले थप जनशक्ति परिचालन गरेको छ।
खोज तथा उद्धारमा ढिलाइ भएको गुनासोपछि सेनाले आफ्नो अपरेसन थप तीव्र बनाएको जनाएको छ। बाढीले तल्लो तटीय क्षेत्रमा बगाएर ल्याएका शवको खोजी तथा संकलनका लागि रसुवादेखि चितवनसम्म त्रिशूली र नारायणी नदी किनारका सम्भावित क्षेत्रमा शुक्रबार थप १ हजार २०० सैनिक परिचालन गरिएको नेपाली सेनाले जनाएको छ।
सेनाले शव संकलनका लागि विशेष टोलीसमेत परिचालन गरेको छ। प्रभावित क्षेत्रसँगै त्रिशूली र नारायणी नदी किनारका सम्भावित सबै स्थानमा जनशक्तिलाई टोलीगत रूपमा परिचालन गरी खोज तथा उद्धारलाई प्राथमिकता दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा अस्थायी व्यवस्थापनका लागि सेनाका १ हजार ६०० जनशक्ति परिचालन गरिएको थियो। थप जनशक्ति परिचालनसँगै बाढीमा सम्पर्कविहीन भएकाहरूको खोजी तथा फेला परेका शवको व्यवस्थापनलाई तीव्र बनाउने सेनाको तयारी छ।
यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ठूलो संख्यामा सुरक्षाकर्मीसमेत प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा खटिएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्