काठमाडौं । चीनको तिब्बत क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीमा परी पाँच जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता रहेका छन्।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार बाढी र पहिरोपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ। यसैबीच, पहिरोका कारण नदी थुनिएर बनेको एउटा ठूलो ताल फुट्ने उच्च जोखिम देखिएपछि चिनियाँ अधिकारीहरूले थप सतर्कता अपनाएका छन्।
राज्य प्रसारक सीसीटीभीका अनुसार शुक्रबारसम्म नेपाल–तिब्बत सीमा नजिकै रहेको उक्त तालमा करिब २५ लाख घनमिटर पानी जम्मा भएको थियो। पहिरोबाट खसेको माटो, ढुंगा र अन्य भग्नावशेषले नदी थुनेपछि अस्थायी जलाशय बनेको जनाइएको छ।
चीनको जलस्रोत मन्त्रालयले चोचेन खोला र पुर्पु त्साङपो नदीको संगम क्षेत्रमा बनेको उक्त ताल भरिएर पानी बाहिर बग्न थालेको जनाएको छ।
चिनियाँ अधिकारीहरूले तालको अवस्था जोखिमपूर्ण रहेको भन्दै सम्भावित थप बाढीप्रति सतर्क रहन आग्रह गरेका छन्। तालको प्राकृतिक बाँध भत्किएमा तल्लो तटीय क्षेत्रमा ठूलो मात्रामा पानी बग्न सक्ने र फेरि बाढी आउन सक्ने चेतावनी दिइएको छ।
नेपाल–चीन सीमा नजिकै बनेको उक्त ताल फुटेमा तल्लो तटीय क्षेत्र तथा सीमावर्ती नेपाली भूभागमा समेत प्रभाव पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूले स्थितिको निरन्तर निगरानी गरिरहेका छन्।
हाल प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको र तालको पानीको सतह तथा सम्भावित जोखिमबारे प्राविधिक निगरानी बढाइएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्