मीना रोका नेपाली निजामती सेवाको इतिहासमा अग्रणी नाम हो। उनी निजामती सेवामा प्रवेश गर्ने प्रथम नेपाली महिला मात्र होइन, सरकारी सेवाकी पहिलो ‘टाइपिस्ट’ र परराष्ट्र मन्त्रालयमा काम गर्ने प्रथम नेपाली महिलाका रूपमा समेत स्मरण गरिन्छिन्। ‘लेजिस्लेटिभ प्रोसिड्युर अफ इन्डियन पार्लियामेन्ट’ विषयक तालिम लिने पहिलो नेपाली महिलाको गौरव पनि उनकै नाममा जोडिएको छ।
विसं १९९४ भदौ १ गते काठमाडौँको कालधारामा जन्मिएकी मीना रोका अर्थात् धन घिमिरेले २०१० साल भदौ १ गते निजामती सेवामा प्रवेश गर्नुभएको थियो। उहाँको पहिलो पद ‘अप्रेन्टिस’ थियो भने मासिक तलब ५५ रुपैयाँ थियो। त्यतिबेला ५५ रुपैयाँबाट एउटा परिवार सहज रूपमा पालिन सक्ने र केही रकम बचतसमेत गर्न सकिने अवस्था रहेको बताइन्छ।
उहाँका पिता विद्याप्रसाद घिमिरे र माता भैरवीदेवी घिमिरे हुनुहुन्थ्यो। समाजमा महिलाले जागिर खानुलाई सहज रूपमा स्वीकार नगर्ने समयमा उहाँको सरकारी सेवामा प्रवेश आफैँमा साहसिक कदम थियो।
समाजको विरोधबीच सरकारी सेवामा प्रवेश
त्यतिबेला सरकारले निजामती सेवामा महिलाको सहभागिता बढाउने उद्देश्यले गोरखापत्रमा विज्ञापन गरेको थियो। दुई–तीन पटक विज्ञापन प्रकाशित भए पनि कुनै महिला सरकारी सेवामा जान तयार भएनन्।
यही क्रममा तत्कालीन गृहमन्त्री सूर्यप्रसाद उपाध्याय मीनाका पिता विद्याप्रसादलाई भेट्न घरमै पुग्नुभयो। उहाँले मीनालाई जागिरमा पठाउन आग्रह गर्नुभयो। मीनाले सरकारी सेवामा प्रवेश गरेपछि अरू महिलासमेत यस क्षेत्रमा आउने विश्वास उपाध्यायको थियो।
मीनाले जागिर थालेपछि भने परिवार र समाजबाटै आलोचना खेप्नुपर्यो। ‘त्यत्रो हुनेखाने भएर पनि छोरीलाई जागिर खान पठायो’ भन्दै समाजले कुरा काट्यो। उनका दाजुलाई पनि मीनाले जागिर खाएको मन परेको थिएन। बाबुसमेत सामाजिक दबाबका कारण निराश बन्नुभएको थियो। पछि साहिँला दाजुले सम्झाएपछि मात्र उहाँले अरूको भनाइलाई बेवास्ता गर्न थाल्नुभयो।
बाँसको कलमदेखि उपसचिवसम्म
मीना रोकाले ‘राज्यव्यवस्था प्रधान मन्त्रालय’ बाट सरकारी सेवाको औपचारिक यात्रा सुरु गर्नुभयो। त्यतिबेला कार्यालयमा बाँसको कलमले मसी चोपेर लेख्नुपर्ने अवस्था थियो। पुराना कर्मचारीले आफ्ना छोराछोरी तथा नातिनातिनालाई काम सिकाउन कार्यालयमा ल्याउने गरेको दृश्य पनि उहाँले देख्नुभएको थियो।
केही समय राज्यव्यवस्था प्रधान मन्त्रालयमा काम गरेपछि उहाँ परराष्ट्र मन्त्रालयमा सरुवा हुनुभयो। त्यहाँ करिब पाँच वर्ष काम गर्नुभयो। त्यसपछि ‘राष्ट्र परिषद्’ मा दुई वर्ष काम गर्नुभयो भने प्रतिनिधिसभा संसद् सचिवालयमा सरुवा हुनुभयो।
पुस १ गतेपछि उक्त निकाय ‘राष्ट्रिय निर्देशन मन्त्रालय’ बनाइयो। पछि त्यसको विघटन भएपछि ‘राष्ट्रिय पञ्चायत सचिवालय’ गठन भयो। त्यहाँ मीना रोकाले करिब २६ वर्ष काम गर्नुभयो। यही अवधिमा उहाँ करिब आठ वर्ष जलस्रोत मन्त्रालयमा काजमा खटिनुभयो।
२०४४ सालदेखि भौतिक तथा आवास मन्त्रालयमा करिब छ वर्ष काम गरेपछि उहाँले २०४९ साल कात्तिक २१ गते ३० वर्षे सेवाअवधि पूरा गरी अवकाश लिनुभयो।
अप्रेन्टिसबाट सुरु भएको उहाँको सरकारी सेवाको यात्रा उपसचिव पदसम्म पुगेर टुंगिएको थियो। जुनियर क्लर्क, सिनियर क्लर्क, खरदार र नायब सुब्बा हुँदै २०२९ सालमा लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी उहाँ शाखा अधिकृत बन्नुभएको थियो। पछि बढुवा हुँदै उपसचिव बन्नुभयो।
बढुवामा अवरोधको पीडा
सरकारी सेवामा इमानदारी र कर्तव्यनिष्ठाका साथ काम गरे पनि सहसचिव बन्ने सम्भावनामा आफू षड्यन्त्रको सिकार भएको उहाँको गुनासो थियो।
उहाँले आफ्नो अनुभव सुनाउँदै भन्नुभएको थियो, “आफ्नो मान्छेलाई बढुवा गराउन मलाई फाराम नै भर्न रोकिएको थियो। बल्लतल्ल फाराम त भरेँ। मैले पाउने निश्चित भएपछि बढुवा स्थगित गराई मेरो सेवा परिवर्तन गरियो।”
निजामती सेवामा आफूलाई सबैभन्दा बढी दुःख दिने विषय नै कर्मचारीबीच हुने खुट्टा तानातानको प्रवृत्ति रहेको उहाँको अनुभव थियो। भनसुन गर्न सक्नेका लागि धेरै कुरा सहज हुने तर इमानदार, कर्तव्यपरायण र कसैसँग केही भन्न नजाने कर्मचारी पीडित हुने गरेको उहाँको बुझाइ थियो।
पढाइमा पनि निरन्तर संघर्ष
मीना रोकाको शैक्षिक यात्रा पनि उत्तिकै संघर्षपूर्ण थियो। घरमै पण्डितबाट पढाइ सुरु गर्नुभएकी उहाँले पद्मकन्या स्कुल, डिल्लीबजारमा औपचारिक शिक्षा लिनुभयो। सरकारी सेवामा प्रवेश गर्दा उहाँ चार कक्षा उत्तीर्ण भइसक्नुभएको थियो।
पछि पद्मकन्यामा करिब अढाई वर्ष पढ्नुभएपछि दरबार हाइस्कुलमा सञ्चालित बिहानको ‘त्रिभुवन प्रौढ शिक्षा निकेतन’ मा भर्ना हुनुभयो। त्यहाँबाट नौ र १० कक्षा पढेर एसएलसी उत्तीर्ण गर्नुभयो।
विवाह र सन्तान जन्मिएपछि करिब १० वर्ष उहाँको पढाइ रोकियो। तर श्रीमान्को प्रेरणापछि पुनः अध्ययन सुरु गर्नुभयो। सरस्वती कलेजको रात्रिकक्षामा भर्ना भएर चार वर्ष अध्ययन गरी स्नातक तह अर्थात् बीए उत्तीर्ण गर्नुभयो।
त्यतिबेला रात्रिकक्षामा महिलाहरू नपढ्ने भएकाले सुरुमा उहाँलाई भर्ना गर्नसमेत आनाकानी गरिएको थियो। श्रीमान्ले विशेष पहल गरेपछि उहाँले अध्ययन अघि बढाउन सक्नुभयो।
सरकारी सेवाकी पहिलो ‘टाइपिस्ट’
मीना रोका सरकारी सेवामा पहिलो ‘टाइपिस्ट’ का रूपमा पनि परिचित हुनुहुन्छ। उहाँका अनुसार त्यतिबेला ‘टाइपिस्ट’ भन्ने छुट्टै पद थिएन, तर टाइप गर्ने काम उहाँले नै सुरु गर्नुभएको थियो।
परराष्ट्र मन्त्रालयमा काम गर्दा उहाँले पहिलोपटक अंग्रेजी टाइपराइटर देख्नुभयो। त्यसपछि आफूखुसी टाइप सिक्न थाल्नुभयो। त्यतिबेला टाइप जान्ने कर्मचारीलाई मासिक १५ रुपैयाँ भत्ता दिने व्यवस्था थियो।
नयाँ सडकस्थित नेपाल नेसनल कमर्सियल इन्स्टिच्युटमा नेपाली टाइपिङ सिकेर प्रमाणपत्र पेस गर्नुभएपछि उहाँले टाइप भत्ता पाउनुभयो। सरकारी सेवामा नयाँ प्रविधि सिकेर त्यसलाई आफ्नो काममा प्रयोग गर्ने उहाँको प्रयास त्यस समयका लागि निकै उल्लेखनीय थियो।
तालिम र अन्तर्राष्ट्रिय अनुभव
सरकारी सेवाकै क्रममा उहाँले इजरायलबाट ‘इन्टरनेसनल कन्टिन्युइङ एजुकेसन कोर्स अन अर्बन म्यानेजमेन्ट एन्ड प्लानिङ’ विषयमा डिप्लोमा गर्ने अवसर पाउनुभयो।
त्यस्तै, नयाँ दिल्ली पुगेर ‘लेजिस्लेटिभ प्रोसिड्युर अफ इन्डियन पार्लियामेन्ट’ विषयक तालिम पनि लिनुभयो। यसरी उहाँले आफ्नो प्रशासनिक अनुभवलाई देशभित्रको सरकारी सेवामा मात्र सीमित नराखी अन्तर्राष्ट्रिय तालिमबाट समेत विस्तार गर्नुभयो।
साहित्यकार भीमदर्शन रोकासँग विवाह
मीना रोकाको विवाह २०१७ साल माघ २६ गते साहित्यकार तथा शिक्षक भीमदर्शन रोकासँग भएको थियो। नेपाली साहित्यमा मुक्तक विधा भित्र्याउने व्यक्तित्वका रूपमा परिचित भीमदर्शनको बालकृष्ण सम, भूपी शेरचन र शङ्कर लामिछानेलगायतका साहित्यकारसँग आत्मीय सम्बन्ध थियो।
मीनाको भीमदर्शनसँग पहिलो भेट टाइपिङ इन्स्टिच्युटमै भएको थियो। भीमदर्शन पनि त्यहाँ टाइप सिक्न पुग्नुभएको थियो। पछि डेरा खोज्ने क्रममा मीनाको घरमा पुग्नुभयो। साहिँला दाजुका साथी भएकाले उहाँलाई त्यहीँ डेरा दिइयो।
मीनाले अध्ययनका क्रममा उहाँसँग ट्युसनसमेत पढ्नुभयो। त्यही क्रममा दुवैबीचको सम्बन्ध अगाडि बढ्यो। विवाहका लागि मीनाका बाबुलाई मनाउन साहिँला दाजुलाई करिब दुई वर्ष लागेको बताइन्छ। अन्ततः २०१७ सालमा विवाह भयो।
दुवैका तीन सन्तान छन्। छोरी आरती केसी सिड्नीमा र छोरा अमर तथा अजय न्युयोर्कमा बस्दै आउनुभएको छ। अमर सिर्जनात्मक क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ।
सम्मान र योगदान
मीना रोकाले सरकारी सेवामा पुर्याउनुभएको योगदानको विभिन्न निकायबाट सम्मान भएको छ। उहाँले गोरखा दक्षिणबाहु (चौथो), शुभराज्याभिषेक पदक, जानपद सेवा पदक, सेवाकालीन पदक तथा दीर्घसेवाकालीन पदक प्राप्त गर्नुभएको थियो।
श्रीमान् भीमदर्शन रोकाको २०५९ चैत २४ गते निधन भयो। उहाँको स्मृतिमा ‘भीमदर्शन रोका स्मृति कोष’ स्थापना गरिएको छ, जसबाट विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्व तथा संस्थालाई सम्मान गरिँदै आएको छ। नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौँले समेत हरेक वर्ष ‘भीमदर्शन मुक्तक पुरस्कार’ प्रदान गर्दै आएको छ।
मीना रोका स्वयं पनि ‘भीमदर्शन रोका स्मृति कोष’ तथा सामुदायिक सेवा गृह, बाँसबारीलगायतका सामाजिक संस्थामा सक्रिय हुनुहुन्थ्यो।
विसं २०७८ कात्तिक ५ गते काठमाडौँमा उहाँको निधन भयो। तर नेपालको निजामती सेवामा महिलाका लागि बाटो खोल्ने अग्रणी व्यक्तित्वका रूपमा उहाँको योगदान आज पनि उत्तिकै स्मरणीय छ।
मीना रोकाको जीवन सरकारी जागिरमा प्रवेश गरेको एउटा घटनाको कथा मात्र होइन—सामाजिक सोच, पारिवारिक दबाब र संस्थागत अवरोधलाई पार गर्दै आफ्नो बाटो आफैँ बनाएकी एक साहसी नेपाली महिलाको प्रेरणादायी यात्रा हो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्