काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टाको अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ।
अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न व्यक्ति तथा संस्थाले कोषमा एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा गरेका हुन्। उक्त रकम विभिन्न १० वटा वाणिज्य बैंकमा रहेका कोषका खातामा जम्मा भएको मन्त्रालयले जनाएको छ।
बुधबार नेपाल–चीन सीमा हुँदै बग्ने भोटेकोसी नदीमा भीषण बाढी आएर ठूलो धनजनको क्षति भएपछि सरकारले मन्त्रिपरिषद् बैठकबाट प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसलगत्तै बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा हुन थालेको हो।
सरकारले राहत कोषमा रकम संकलन तथा समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालय तोकेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थागत रूपमा एक करोड रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताको रकम मन्त्रालयमार्फत स्वीकार गर्ने व्यवस्था गरिएको छ।
व्यक्तिगत रूपमा सहयोग गर्न चाहने दाताले भने मन्त्रालयमै पुगेर नगद सहयोग रकम उपलब्ध गराउन सक्नेछन्।
नयाँ सहयोग रकम थपिएसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रहेको कुल बचत रकम चार अर्ब नौ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ। यसअघि कोषमा दुई अर्ब १७ करोड २५ लाख नौ हजार ७५९ रुपैयाँ बचत रहेको थियो।
यसैबीच, बिहीबार मात्र छ घण्टाको अवधिमा नेपालका निजी क्षेत्रका दाताबाट अर्थ मन्त्रालयमार्फत २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो। प्राप्त सहयोग रकममा विभिन्न मित्रराष्ट्रले घोषणा गरेको सहायता भने समावेश नगरिएको जनाइएको छ।
Originally published on abcnews.com.np.
















प्रतिक्रिया दिनुहोस्