पोखरा । भोटेकोसी नदीमा आएको बाढीमा ज्यान गुमाएका व्यक्तिको शव पहिचान तथा परीक्षणको काम पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजदेखि सुरु भएको छ ।
नवलपुर, गोरखा, धादिङ र तनहुँबाट बरामद गरिएका ९३ वटा शव पोखरा ल्याइएको छ । तीमध्ये नौवटा शव मणिपाल शिक्षण अस्पतालमा राखिएको जनाइएको छ ।
शव पहिचानका लागि मृतकका आफन्तलाई अस्पतालमा स्क्रिनमार्फत तस्बिर हेर्ने व्यवस्था मिलाइएको छ । बाढीमा बेपत्ता भएका व्यक्तिका आफन्त पोखरा पुगेर शव पहिचानको प्रयास गरिरहेका छन् ।
शव परीक्षण र डीएनए परीक्षण
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार शव परीक्षणपछि पहिचान भएका शव कानुनी प्रक्रिया पूरा गरी तत्काल आफन्तलाई बुझाइनेछ ।
पहिचान हुन नसकेका शवको डीएनए परीक्षणका लागि आवश्यक नमुना काठमाडौं पठाइने उहाँले जानकारी दिनुभयो ।
‘शवको तस्बिर आफन्तलाई हेर्ने व्यवस्था मिलाएका छौँ, पहिचान गरिसकेपछि कानुनी प्रक्रिया पूरा गरेर शव बुझाउँछौँ,’ उहाँले भन्नुभयो, ‘शव हिलाम्मे भएकाले परीक्षण गर्नुअघि सफा गर्नुपर्ने अवस्था छ ।’
बेवारिसे शव व्यवस्थापन गरिने
पहिचान हुन नसकेका बेवारिसे शवलाई बेवारिसे शव व्यवस्थापन निर्देशिकाअनुसार व्यवस्थापन गरिने जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले शव पहिचान तथा व्यवस्थापनको काम सुरु भइसकेको बताउनुभयो । शवको संख्या धेरै भएकाले पहिचान गरी आफन्तलाई बुझाउन केही दिन लाग्न सक्ने उहाँले जानकारी दिनुभयो ।
‘शव पहिचान तथा व्यवस्थापनका लागि काम सुरु भइसकेको छ, शवको संख्या धेरै भएकाले पहिचान गरी आफन्तलाई बुझाउन केही दिन समय लाग्न सक्छ,’ उहाँले भन्नुभयो ।
पोखराका अन्य अस्पतालसँग समेत शव व्यवस्थापनका लागि समन्वय भइरहेको उहाँले बताउनुभयो ।
चार जिल्लाबाट ९३ शव पोखरा ल्याइयो
त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शव सम्बन्धित जिल्लामा राख्न तथा परीक्षण गर्न पर्याप्त स्थान नभएपछि पोखरा ल्याइएको हो ।
प्रजिअ गुरुङका अनुसार नवलपुरबाट ४१, धादिङबाट २७, तनहुँबाट १४ र गोरखाबाट ११ वटा शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको छ ।
Originally published on abcnews.com.np.
















प्रतिक्रिया दिनुहोस्