काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढी र पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको धादिङ खण्ड सञ्चालनमा ल्याउन निर्माण व्यवसायीका उपकरण परिचालन गरी मर्मत तथा सफाइको काम तीव्र पारिएको छ।
सडक विभागका अनुसार धादिङको गल्छीदेखि मुग्लिनसम्मका विभिन्न स्थानमा थुप्रिएको हिलो, लेदो तथा पहिरो पन्छाउने काम भइरहेको छ। राजमार्गका विभिन्न खण्डमा निर्माण व्यवसायीका २५ भन्दा बढी हेभी इक्विपमेन्ट तथा यान्त्रिक उपकरण परिचालन गरिएको छ।
बाढीका कारण पृथ्वी राजमार्गको करिब १५ किलोमिटर सडक खण्डमा क्षति पुगेको छ। सडक स्तरोन्नतिको काममा प्रयोग भइरहेका निर्माण व्यवसायीका पिच प्लान्टलगायत अन्य उपकरणसमेत बाढीले बगाएको सडक विभागले जनाएको छ।
सडक विभागका सिनियर डिभिजन इन्जिनियर सुरेश पौडेलले सडकमा पहिरो पन्छाउने अनुभव भए पनि ठूलो मात्रामा जमेको हिलो र लेदो व्यवस्थापनमा केही जटिलता देखिएको बताए।
पौडेलका अनुसार निर्माण व्यवसायीका पर्याप्त हेभी मेसिनरी प्रयोग गरी बैरेनीको १ हजार ४ सय मिटर र जरेखेतको ४ सय मिटर सडक खण्डमा जमेको हिलो सफा गरी यातायात सञ्चालनमा ल्याइएको छ।
यद्यपि, जरेखेत क्षेत्रमा सवारी आवागमनमा अझै केही समस्या रहेको छ। पोखरे, बाँगे तथा गलौँदी क्षेत्रमा करिब ७ सय मिटर सडकमा यातायात सञ्चालन हुन बाँकी रहेको उनले जानकारी दिए।
सडक स्तरोन्नतिको जिम्मेवारी पाएको शर्मा–लामा जेडआईइसी कम्पनीका उपकरणसमेत परिचालन गरी सडकमा रहेको अवरोध हटाउने काम भइरहेको छ।
पौडेलले आज साँझसम्म पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको जानकारी दिए।
Originally published on abcnews.com.np.
















प्रतिक्रिया दिनुहोस्