काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपाल–चीन सीमाक्षेत्रमा हिम–चट्टानको पहिरोपछि सिर्जित जोखिम अझै कायम रहेको जनाएको छ। शुक्रबार दूतावासका प्रवक्ताले विज्ञप्ति जारी गर्दै सीमा नदीको माथिल्लो क्षेत्रमा पहिरोले नदी थुनेर बनेको तालमा पानीको सतह उच्च रहेकाले थप क्षतिको सम्भावना रहेको बताएका हुन्।
दूतावासका अनुसार हालैका दिनमा चीन–नेपाल सीमा नदीको माथिल्लो क्षेत्रमा नेपालको भूभागतर्फको एक सहायक नदीमा हिम–चट्टानको पहिरो गएको थियो। पहिरोका कारण नदी थुनिँदा सीमा नदीसँगै एउटा अस्थायी ताल बनेको र उक्त तालमा पानीको सतह बढ्दै गएपछि पानी ओभरफ्लो हुन थालेको जनाएको छ।
विज्ञप्तिमा नेपाल र चीन दुवै देशका लागि उद्धार तथा आपत्कालीन प्रतिकार्यको दृष्टिले अहिलेको अवस्था अत्यन्त संवेदनशील रहेको उल्लेख गरिएको छ।
चिनियाँ दूतावासले पहिरोले बनाएको तालभन्दा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय समुदाय तथा सम्बन्धित निकायलाई नदीको जलसतहमा भइरहेको परिवर्तनलाई निरन्तर निगरानी गर्न आग्रह गरेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन र आपत्कालीन प्रतिकार्यका लागि अग्रिम तयारी अवस्थामा रहनसमेत अनुरोध गरिएको छ।
नेपाल र चीनका सम्बन्धित निकायहरूले सीमाक्षेत्रको अवस्थामाथि निरन्तर निगरानी गरिरहेको दूतावासले जनाएको छ। साथै, सर्वसाधारणलाई आधिकारिक तथा विश्वसनीय स्रोतबाट प्राप्त सूचना मात्रै अनुसरण गर्न, अपुष्ट सूचना फैलाउनबाट जोगिन र अनावश्यक त्रास सिर्जना नगर्न आग्रह गरिएको छ।
Originally published on abcnews.com.np.
















प्रतिक्रिया दिनुहोस्