काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीमा परी घाइते भएकामध्ये राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएका ३५ जनामध्ये २२ जना उपचारपछि डिस्चार्ज भएका छन्। पछिल्लो विवरणअनुसार शुक्रबार बिहानसम्म ९ जना बिरामी उपचाररत छन्।
राष्ट्रिय ट्रमा सेन्टरका सूचना अधिकारी शिवकुमार निरौलाका अनुसार उपचाररत ९ जनामध्ये एक जना सघन उपचार कक्ष (आईसीयू) र दुई जना एचडीयूमा उपचाररत छन्। एक जना बिरामीलाई थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएको छ।
बाढीमा परी घाइते भएकाहरूलाई रसुवा, नुवाकोटलगायत विभिन्न जिल्लाबाट उपचारका लागि ट्रमा सेन्टर ल्याइएको हो। घाइतेमध्ये ६ वर्षदेखि ६० वर्षसम्मका बिरामी रहेका छन्।
निरौलाका अनुसार हाल उपचाररत बिरामीहरूको टाउको, हातखुट्टा, छाती तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। केही बिरामीको अवस्था सामान्य रहेको छ भने केहीको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।
बाढीपछि अस्पतालमा ल्याइएका घाइतेहरूको आवश्यक उपचार तथा व्यवस्थापन भइरहेको जनाउँदै ट्रमा सेन्टरले अस्पताल परिसरमा अनावश्यक भीड नगर्न आग्रह गरेको छ। साथै, घाइते तथा बिरामीको अनुमति र अस्पतालसँग समन्वयबिना अन्तर्वार्ता लिन वा भिडियो तथा तस्बिर खिच्नसमेत रोक लगाइएको छ।
Originally published on abcnews.com.np.
















प्रतिक्रिया दिनुहोस्