काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा रहेका पर्यटक तथा तीर्थयात्रीको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।
नेपाल पर्यटन बोर्डका अनुसार बाढीमा परेर नेपालसहित विभिन्न ३६ देशका पर्यटक तथा तीर्थयात्री सम्पर्कविहीन भएका छन्। शुक्रबार मात्रै १२१ जना विदेशी पर्यटकको उद्धार गरिएको छ। यसअघि बिहीबार ३३ जना विदेशी पर्यटकको उद्धार गरिएको थियो।
बोर्डका अनुसार बाढीपछि विभिन्न माध्यमबाट गोसाइँकुण्ड तथा कैलाश मानसरोवर क्षेत्रतर्फ गएका ६२२ जना विदेशी पर्यटक अझै सम्पर्कविहीनछन्।
नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, पर्यटक प्रहरी तथा पर्यटन व्यवसायीको समन्वयमा खोजी तथा उद्धार भइरहेको छ।
उनका अनुसार शुक्रबार उद्धार गरिएका १२१ विदेशी पर्यटकमध्ये भारतका मात्रै ८५ जना रहेका छन्।
भारतीय पर्यटक सबैभन्दा धेरै सम्पर्कविहीन
पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन पर्यटकमध्ये सबैभन्दा ठूलो संख्या भारतीय नागरिकको छ।
उपलब्ध विवरणअनुसार भारतका ९८, अमेरिकाका ६७, युक्रेनका ६१, मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३, क्यानडाका २५, चीनका ८, सिङ्गापुरका ९ र रुसका ७ जना सम्पर्कविहीन छन्।
त्यस्तै नेपालका १४९, दक्षिण अफ्रिकाका ६, जापानका ५, न्युजिल्यान्डका ५, फ्रान्सका ४ र स्पेनका २ जना पनि सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ।
जर्मनी, आयरल्यान्ड, स्विडेन, सर्बिया, फिलिपिन्स, लिथुआनिया, इजरायल, हंगेरी, फिनल्यान्ड र बेलारुसलगायत अन्य देशका नागरिकसमेत सम्पर्कविहीन रहेको जनाइएको छ।
हवाई उद्धारलाई प्राथमिकता
बाढी प्रभावित दुर्गम तथा सडक सम्पर्क विच्छेद भएका क्षेत्रबाट पर्यटकको उद्धारका लागि हवाई उद्धारलाई प्राथमिकता दिइएको छ।
यसअघि विभिन्न स्थानबाट ३३ जना विदेशी पर्यटकको हवाई उद्धार गरिएको थियो। उद्धार गरिएकामा भारतका ११, दक्षिण कोरियाका ४, अमेरिका र रुसका २/२, इटलीका २ तथा बुल्गेरिया र स्विट्जरल्यान्डका १/१ जना रहेका थिए। देश पहिचान हुन नसकेका थप ८ जनाको समेत उद्धार गरिएको बोर्डले जनाएको छ।
बाढीका कारण सडक, पुल र सञ्चार संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रमा पुगेर खोजी तथा उद्धार गर्न कठिनाइ भइरहेको छ। यद्यपि सुरक्षाकर्मी, सरकारी निकाय तथा पर्यटन क्षेत्रसँग सम्बन्धित संस्थाको समन्वयमा सम्पर्कविहीन पर्यटकको खोजीलाई निरन्तरता दिइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्