काठमाडौं । चीनको तिब्बततर्फबाट बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी नेपाल प्रहरीका २७ जना कर्मचारी अझै बेपत्ता रहेका छन् ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बाढीमा परी बेपत्ता भएका प्रहरी कर्मचारीमध्ये एक जनाको शव फेला परेको छ । प्रहरी चौकी बेत्रावतीमा कार्यरत असई रामकाजी पौडेलको शव फेला परेको हो । उनको शव आफन्तले सनाखत गरी बुझिसकेका छन् ।
बाढीपछि प्रहरी कर्मचारीहरूसहित ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएका छन् । भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा बाढीले प्रहरी चौकी, सडक तथा अन्य संरचनामा समेत क्षति पुर्याएको छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको सूचीअनुसार अझै २७ जना प्रहरी कर्मचारीको अवस्था अज्ञात छ । बेपत्ता हुनेमा प्रहरी जवानदेखि सहायक निरीक्षक (सई) दर्जासम्मका कर्मचारी रहेका छन् ।
बेपत्ता प्रहरी कर्मचारीको खोजी तथा उद्धार कार्य जारी रहे पनि प्रतिकूल भौगोलिक अवस्था, सडक तथा सञ्चार सम्पर्कमा आएको अवरोध र बाढीले पुर्याएको व्यापक क्षतिका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको छ ।
सुरक्षा निकायले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ । बेपत्ता प्रहरी कर्मचारीको अवस्था यकिन गर्न सम्बन्धित क्षेत्रमा खोजी तथा उद्धार टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्