नुवाकोट (बेत्रावती) । बस्ने घर छैन । परिवारका सदस्य सम्पर्कमा छैनन् । फर्किएलान् कि भन्ने झिनो आशा मात्रै बाँकी छ । आफन्त भेटिन्छन् कि भनेर खोजीमा भौँतारिरहेका बाढीपीडितको शरीरमा अझै बालुवा र माटो टाँसिएको छ । फेर्ने कपडासमेत छैन ।
नुवाकोटको बेत्रावतीमा बाढीबाट विस्थापित भएकाहरू अहिले बासको खोजीमा छन् । बाढीले घरबार बगाएपछि उनीहरू आफन्त र गाउँलेको आश्रयमा रात कटाइरहेका छन् । कतिपय भने खुला आकाशमुनि बस्न बाध्य छन् ।
११ गते साँझ बेत्रावती पुग्दा १५–२० जनाको एउटा समूह तीन घण्टाको दूरीमा रहेको केराघारीतर्फ लाग्दै थियो ।
‘हिजो केराघारीमा गएर बस्यौँ । आज पनि त्यतै जाने हो,’ इन्द्रमाया डंगोलले भनिन् ।
बेत्रावतीमा डंगोल परिवारका मात्रै सयभन्दा बढी घरधुरी थिए । तर बाढीपछि कति परिवारका सदस्य बगे, कति सम्पर्कमा छन् र कति सुरक्षित छन् भन्ने यकिन विवरण छैन ।
बाढी आएको दिन करिब ५० जना केराघारी पुगेर बसेका थिए । दोस्रो दिन करिब ३० जना त्यहाँ थिए । बाँकी कतिपय काठमाडौं र विदुरतर्फ लागेका छन् ।
‘यहाँ नबस्ने भनेर कोही हिँड्दै काठमाडौंतिर लाग्नुभयो । कोही विदुरतिर जानुभएको छ । हामी जाने ठाउँ नभएर यतै बसेका छौँ,’ इन्द्रमायाले भनिन्, ‘खुला आकाशमुनि बास छ ।’
छोराको खबरको प्रतीक्षामा आमा
इन्द्रमायालाई आफ्नो बासको चिन्ताभन्दा बढी छोराको चिन्ता छ । बाढीमा गम्भीर घाइते भएका उनका छोरालाई उद्धार गरेर काठमाडौं लगिएको छ ।
‘तीन दिन भयो । छोराको उपचार ट्रमा सेन्टरमा भइरहेको छ भन्ने सुनेको छु । कुरा हुन पाएको छैन । फोन लाग्दैन,’ उनले भनिन् ।
छोरा सकुशल फर्कियोस् भन्ने कामना गर्दै उनी आफन्त र परिचितबाट आउने खबरको प्रतीक्षामा छिन् ।
‘बाँच्नेहरूलाई पीडामाथि पीडा’
बाढीबाट भागेर ज्यान जोगाउन सफल भएका प्रत्येक व्यक्तिसँग अहिले कुनै न कुनै दुःखको कथा छ । कसैले आफन्त गुमाएका छन्, कोही आफैं घाइते छन् भने कतिपयको घरसमेत बाँकी छैन ।
नारायणलाल डंगोलका अनुसार बेत्रावतीमा डंगोल परिवारका मात्रै सयभन्दा बढी घरधुरी थिए ।
‘अहिले यहाँ आएका जति छन्, यिनै हुन् । अरू कोही पनि छैनन्,’ उनले भने, ‘कोही जंगलमै छन् भन्ने छ । तर सम्पर्क हुन सकेको छैन । धेरैजसोलाई बगाएको छ ।’
घर गुमाएका उनीहरूका लागि अहिले सबैभन्दा ठूलो समस्या बास र खाना बनेको छ ।
‘घरै छैन । खाने सामल कहाँ हुनु ? कसरी बाँच्ने हो थाहा छैन । बाँच्नेहरूलाई पीडामाथि पीडा छ,’ नारायणलालले भने, ‘यहाँ राहतको आवश्यकता छ ।’
जात्राको तयारी भएको ठाउँमा शोक
बेत्रावतीमा यसपटक गाईजात्रा र जनैपूर्णिमा भव्य रूपमा मनाउने तयारी थियो । तर पर्वको तयारी गरिरहेको बस्ती केही घण्टामै विपत्तिको केन्द्रमा परिणत भयो ।
योगेश डंगोलका शब्दमा, उत्सवका लागि तयार भएको ठाउँ अहिले घाटजस्तै बनेको छ ।
‘ठूलो जात्राको तयारी गरेका थियौँ । तर यहाँ घाट जस्तो भएको छ । गाउँलेको घरमा आश्रय लिएर बसेका छौँ,’ उनले भने, ‘आज कस्तो अवस्थामा बस्नुपर्यो, हेर्नुस् न ।’
बाढीको त्रासबाट ज्यान जोगाए पनि उनीहरूको मन भने अझै शान्त हुन सकेको छैन ।
‘निद्रा लाग्दैन । आँखा चिम्लियो कि त्यही सम्झिन्छु । निदाउन सकिरहेको छैन । हिजो पनि सुत्न सकिनँ,’ एक विस्थापितले भने, ‘कसरी गएँ, कसरी आएँ, कसरी यहाँ आइपुगेँ, केही थाहा छैन । हिँड्नसमेत सकिरहेको छैन ।’
गाउँलेले पकाएर खुवाए
विस्थापितहरूका लागि स्थानीय सुना तामाङले बिहान–बेलुका खाना खुवाइरहेकी छन् । बाढीले घर र खाद्यान्न बगाएपछि आश्रय खोज्दै आएका पीडितलाई उनले आफ्नो क्षमताअनुसार खाना खुवाएकी हुन् ।
‘पहिलो दिन ५०–६० जना हुनुहुन्थ्यो । ग्यास सकियो । आगोमा पकाएर भए पनि खुवाएकी छु,’ उनले भनिन्, ‘सबैको आँखाबाट आँसु बगिरहेको छ । यस्तो दुःखमा बाँचेकाहरूलाई खुवाउनै पर्यो ।’
तर स्थानीयस्तरको सहयोगले मात्र लामो समयसम्म धान्न सकिने अवस्था छैन । विस्थापितहरूका घरसँगै उनीहरूको खाद्यान्न, लत्ताकपडा र दैनिक जीवनका आधारभूत सामग्रीसमेत बाढीले बगाएको छ ।
‘अब सरकारले हेर्ला त ?’
अहिले विस्थापितहरू सुना तामाङको घरको आँगनमा रात बिताउन विवश छन् । उनीहरूलाई तत्काल अस्थायी आवास, खाद्यान्न, कपडा र स्वास्थ्य सेवाको आवश्यकता छ ।
सबैभन्दा ठूलो प्रश्न भने उनीहरूका अगाडि एउटै छ—अब कहाँ जाने ?
‘भोलि कहाँ जाने, कहाँ बस्ने हो थाहा छैन,’ इन्द्रमायाले भनिन्, ‘बेघरबार भएका हामीलाई अब सरकारले हेर्ला त ? आजसम्म सरकार आएको छैन ।’
बेत्रावतीका यी आवाज बाढीपछि बाँचेका नागरिकको अर्को संकटको चित्र हो । नदीको भेलबाट ज्यान जोगाएका उनीहरू अब घरबारविहीनता, आफन्तको खोजी, खाद्यान्न अभाव र अनिश्चित भविष्यसँग जुधिरहेका छन् ।
उद्धारको पहिलो चरणमा जीवन बचाउनु प्राथमिकता थियो । तर बाढीपछि बाँचेका परिवारलाई सुरक्षित बास, खाना, उपचार र परिवारसँग पुनर्मिलन गराउनु अब अर्को ठूलो चुनौती बनेको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्