काठमाडौं । रसुवाको भोटेकोशी नदीमा पानीको बहाव बढेको भए पनि तत्काल ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आइतबार बिहान ५ः४५ बजे जारी गरेको अद्यावधिक सूचनामा जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त जानकारीअनुसार भोटेकोशी नदीको बहाव बढेको उल्लेख गरेको छ।
महाशाखाका अनुसार बाढीको बहाव केही बढेसँगै नुवाकोटमा पनि नदीको सतह बढेको छ। यद्यपि, हालसम्म बाढीको अवस्था ठूलो नरहेको जनाइएको छ।
रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा तत्काल ठूलो बाढीको जोखिम नरहेको महाशाखाले स्पष्ट पारेको छ।
महाशाखाले पछिल्लो अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। पछिल्ला दिनमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएकाले नदी आसपासका बासिन्दालाई भने सतर्क रहन आग्रह गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्