पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक अधिवेशनका अवसरमा शनिबार आयोजित उम्मेदवार परिचय कार्यक्रममा शोभा गौतम नेतृत्वको प्यानलले उद्योगी–व्यवसायीको हित, संघको संस्थागत सुदृढीकरण र पोखराको आर्थिक समृद्धिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ ।
अध्यक्ष पदकी उम्मेदवार शोभा गौतमले संघमा आफूले सम्हालेका हरेक जिम्मेवारीलाई पदभन्दा सेवाको अवसरका रूपमा लिएको बताइन् । नेतृत्वको जिम्मेवारी पाए आश्वासनभन्दा परिणाम दिने गरी उद्योगी–व्यवसायीका समस्या समाधानमा केन्द्रित हुने उनको भनाइ थियो ।
२६ वर्षअघि संघकै अगाडि रहेको सानो चियापसलबाट व्यावसायिक यात्रा सुरु गरेको स्मरण गर्दै गौतमले संघर्ष र चुनौती पार गर्दै आफू अध्यक्ष पदको उम्मेदवारसम्म आइपुगेको बताइन् । २६ वर्षको व्यावसायिक अनुभवसँगै पोखरा उद्योग वाणिज्य संघमा प्राप्त संस्थागत अनुभवलाई आधार बनाएर निर्वाचनमा होमिएको उनले बताइन् । आफू महिला व्यवसायीको प्रतिनिधिका रूपमा समेत नेतृत्वमा आउन चाहेको उनको भनाइ थियो ।
वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार टीकाराम सुवेदीले संघको कार्यसमितिमा दुई कार्यकाल काम गरेको अनुभवलाई नेतृत्वमा उपयोग गर्ने बताए । पोखरालाई पर्यटनको राजधानी घोषणा भइसकेको अवस्थामा गुणस्तरीय पर्यटक भित्र्याउन संघले प्रभावकारी भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।
कृषि र पर्यटनलाई जोडेर अघि बढ्न सके पोखराको आर्थिक समृद्धिको आधार थप बलियो बन्ने सुवेदीले बताए । उनले प्यानललाई एकताबद्ध बनाएर संघको साख जोगाउने गरी काम गर्ने प्रतिबद्धता जनाए ।
उद्योग उपाध्यक्ष पदका उम्मेदवार सौगात थापाले युवा व्यवसायीको आवाज संघको नेतृत्व र निर्णय प्रक्रियासम्म पुर्याउने उद्देश्यले आफ्नो उम्मेदवारी रहेको बताए । व्यवसाय सञ्चालनका क्रममा व्यवसायीले भोगिरहेका समस्या, चुनौती र अवसरलाई आफूले नजिकबाट अनुभव गरेको भन्दै उनले युवालाई व्यवसायमा आउन प्रोत्साहित गर्नुका साथै नेतृत्व र नीति निर्माणमा समेत जोड्नुपर्ने बताए ।
“आजको युवा रोजगारी खोज्ने मात्र होइन, रोजगारी सिर्जना गर्ने क्षमता राख्छ,” थापाले भने । प्रविधिको प्रयोग, नयाँ व्यवसाय र नयाँ बजार खोज्ने युवाको क्षमतालाई संघले अवसरका रूपमा लिनुपर्ने उनले बताए ।
वाणिज्य उपाध्यक्ष पदका उम्मेदवार भीम गौतमले व्यवसायीको अप्ठ्यारोमा विगतमा पनि साथ दिँदै आएको र आगामी दिनमा पनि निरन्तर साथ दिने बताए । घरबेटीका कारण समस्यामा परेका व्यवसायीको आवाज उठाउनुका साथै साना तथा मझौला व्यवसायीको हकहितका लागि सक्रिय भएर काम गर्ने उनको प्रतिबद्धता थियो ।
महासचिव पदका उम्मेदवार तारानाथ ढुंगानाले व्यवसायलाई व्यक्तिगत पेसाका रूपमा मात्र नभई रोजगारी, राजस्व, परिवारको भविष्य र समग्र अर्थतन्त्रसँग जोडिएको क्षेत्रका रूपमा बुझ्नुपर्ने बताए । व्यवसायीका साझा समस्या समाधानका लागि सम्बन्धित सरकारी निकायसँग समन्वय र पहल गर्ने उनले बताए ।
कोषाध्यक्ष पदका उम्मेदवार जीवन प्रकाश श्रेष्ठले संघको आर्थिक गतिविधिलाई चलायमान बनाउँदै आर्थिक कारोबारलाई पारदर्शी बनाउने प्रतिबद्धता जनाए । संघको संस्थागत साख कायम राख्दै उद्योगी–व्यवसायीका समस्या समाधानका लागि सक्रिय रूपमा काम गर्ने उनको भनाइ थियो ।
उपमहासचिव पदका उम्मेदवार यादवप्रसाद पोखरेलले युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने नीति तथा कार्यक्रमलाई प्राथमिकता दिने बताए । सीप, प्रविधि, लगानी र बजारलाई उद्यमशीलतासँग जोडेर अघि बढ्नुपर्ने उनको धारणा थियो । व्यवसायीका समस्या समाधानका लागि सरकारी निकायसँग साझेदारी र समन्वय गर्ने तथा बैंकबाट सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न पहल गर्ने उनले बताए ।
उम्मेदवार परिचय कार्यक्रममा गौतम नेतृत्वको प्यानलका उम्मेदवारहरूले व्यवसायीका समस्या सुन्ने मात्र नभई समाधानका लागि पहल गर्ने, युवा तथा नयाँ पुस्तालाई व्यवसायमा जोड्ने, संघको संस्थागत साख र आर्थिक पारदर्शिता कायम गर्ने तथा पोखराको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका बलियो बनाउने विषयलाई प्राथमिकताका रूपमा प्रस्तुत गरेका थिए ।
पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन भदौ २० र २१ गते हुँदैछ । महाधिवेशनमा गौतम नेतृत्वको प्यानलले अनुभव, नयाँ ऊर्जा र परिणाममुखी कार्यको संयोजनसहितको टिमका रूपमा आफूलाई प्रस्तुत गर्दै उद्योगी–व्यवसायीको मत र समर्थन मागेको छ ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्